लकडाउनमा बढ्यो मानसिक रोगको औषधि खपत

काठमाडौं : मनोविज्ञ मधुविलाश खनालसँग यो लकडाउनको ६ महिनाको अवधिमा मात्रै झण्डै ४ दर्जनजति मानसिक समस्याका बिरामीहरूले मनोपरामर्शका लागि भेट गरे । यसरी आउनेहरूको समस्या आ–आफ्नै थियो । कोही नोकरी गुमेपछि मानसिक समस्यामा परेका थिए भने कोही लामो समयसम्म साथीभाइ भेटघाट गर्न नपाउँदा र विद्युतीय उपकरणको बढी प्रयोगले त्यो अवस्थामा पुगेका थिए ।

सधैं घरपरिवारबीच बसिरहँदा हुने पारिवारिक कलहका कारण पनि धेरै मानसिक समस्यामा पुगेका थिए । यसमध्ये सबैभन्दा धेरै नोकरी गुमेकाले अब कसरी घरपरिवार धान्ने भन्ने थियो भने किशोरकिशोरीहरूको समस्या त्यसपछि धेरै हुनेमा थियो ।

जागिर गयो भनेर मानसिक समस्यामा जानेहरूमध्ये कोही अस्थायी सरकारी जागिरे थिए भने धेरै एनजीओमा काम गर्नेहरू थिए ।

यसरी उनी कहाँ आउनेमध्ये धेरैले नियमित औषधि पनि खाने गरेका थिए । तर अहिले तीमध्ये करिब ६० प्रतिशत नियमित सम्पर्कमा रहेको र बाँकी ४० प्रतिशतले नियमित औषधि खाए पनि मनोपरामर्शको लागि सम्पर्क नगर्ने गरेको उनले बताए ।

उनी भन्छन् ‘औषधिले मात्रै पनि मनोरोग निको हुँदैन ।’ मानसिक समस्यामा परेपछि चिकित्सककहाँ जाँदा औषधि लेखिदिने परिपाटीका कारण पनि यो समयमा धेरै औषधि बिक्री हुने गरेको उनले बताए ।

जावलाखेलस्थित क्लिनिक वन फार्मेसीका सञ्चालक रघु राणाले अनलाइनबाट औषधिको अर्डर लिन थालेको केही महिनामा नै लकडाउन सुरु भएको थियो । आफ्नै फार्मेसी सञ्चालनमा रहेको उनले घरमा होम डेलिभरी गर्ने एउटा कम्पनीसँग सहकार्य गरेर औषधि घरघरमा पु¥याउन थालेपछि लकडाउनको अवधिभरमा मात्रै अपत्यारिलो यथार्थले उनलाई सताएको छ ।

कोभिडको समयमा अरू औषधिभन्दा धेरै मानसिक रोगसम्बन्धी औषधिको माग बढ्न थालेको उनले अनलाइनखबरलाई सुनाए । ‘औषधिको माग त लकडाउनको समय भएकोले होला अरूको पनि बढेको छ । तर त्यसमध्ये पनि सबैभन्दा धेरै मानसिक औषधिको माग बढेको छ’ उनले भने ‘हामी चिकित्सकको औषधि सिफारिसपत्र मागेर मात्रै मानसिक रोगसम्बन्धी औषधिको अर्डर लिने गर्छाैं । तर यसैको संख्या पनि अत्यधिक देखिएको छ ।’

त्यस्तै, अनलाइन डेलिभरीको काम गर्ने अनलाइन औषधि डटकमकी सञ्चालिका सबी सिंहले पनि लकडाउनको समयमा मानसिक रोगसम्बन्धी औषधिको माग अरू समयकोभन्दा धेरै भएको बताइन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वमा २६ करोड ४० लाख मानिस डिप्रेसनमा छन् । डिप्रेसन आत्महत्या गर्ने चरणको पहिलो खुड्किलो भएको मनोविश्लेषकहरू बताउँछन् ।

अहिले हामीले फेस गरिरहेको समस्यालाई मनोविश्लेषकहरू अभिघातजन्य अवस्था भन्छन् । यो कहिलै नसोचेको, नभोगेको र नदेखेको अकल्पनीय घटना घटेको अवस्थामा मान्छे मानसिक रूपमा समस्याग्रस्त हुने  हुने गरेको बताउँछन् मनोविश्लेषक बासु आचार्य । भूकम्प, विभिन्न आतंककारी हमला जस्ता समयमा सामान्य मान्छेले समेत यस्ता समस्या भोग्ने गरेको उनले बताए । यस्तो अवस्थामा मानसिक रूपमा सामान्य समस्या भएकाहरूको अवस्था झनै बिग्रने भएकोले पनि औषधिको खपत बढी भएको हुन सक्ने आचार्यले बताए ।

आचार्य यस्तो अवस्था अझै लम्बियो भने पीटीएसडी अर्थात् पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरको अवस्था आउन सक्ने उनले बताए । यो भनेको अभिघातजन्य अवस्थापछि आउन सक्ने मानसिक समस्या हो । यो अवस्था जस्तो सुकै डरलाग्दो घटना वा अकल्पनीय घटना हुँदा यस्तो समस्या आउने उनले बताए ।

यसको समाधानका लागि औषधि र मनोपरामर्श नै मुख्य हतियार रहेकोले लकडाउनको समयमा यसको प्रयोग बढेको हुन सक्ने मनोचिकित्सकहरू बताउँछन् ।

आचार्यका अनुसार मान्छेले मानसिक समस्याको पहिलो चरणदेखि नै औषधि खाने गर्छन् भने अन्तिम चरणमा पुगेपछि आत्महत्या गर्ने गर्छन् । आत्महत्याको पनि छुट्टाछुट्टै चरण हुने गर्छ ।  पहिलो चरणमा मान्छे मर्न पाए पनि हुन्थ्यो भन्ने सोच बोकेर बसेको हुन्छ । उसले कुनै अकल्पनीय घटना घटेपछि त्यसलाई सम्हाल्न भन्दा बरू मर्नपाए हुन्थ्यो भन्ने सोच बनाउँछ । मानसिक समस्या भएकाहरूले दोस्रो चरणमा प्रवेश गरेपछि आत्महत्याको योजना बनाउने गर्छन् । आचार्यका अनुसार पहिलो चरणकाभन्दा दोस्रो चरणका व्यक्तिहरू तुलनात्मक रूपमा कम हुन्छन् । तेस्रो चरणमा आत्महत्याको प्रयास गर्ने गर्छन् । यो चरणमा पनि दोस्रो चरणको भन्दा कम व्यक्ति संलग्न हुन्छन् । आत्महत्याको प्रयास गर्नेमध्येका केहीले भने आत्महत्या नै गर्ने गरेको उनी बताउँछन् ।

आचार्य भन्छन् एक जना मान्छेले आत्महत्या गर्दा ऊसँगै २० जनाले आत्महत्याको प्रयास गरिरहेको हुन्छ भनेर मनोविज्ञानमा विश्लेषण गर्ने गरिन्छ । अहिले झण्डै २००० जनाले लकडाउनको ६ महिनाको अवधिमा मात्रै आत्महत्या गरेको भन्ने अपुष्ट तथ्यांक आएको छ । यसलाई आधार मान्दा ४० हजारले आत्महत्याको प्रयास लकडाउनको अवधिमा मात्रै गरेको हुन सक्ने आचार्य बताउँछन् । एक जनाले आत्महत्या गर्दा २० जनाले प्रयास गर्छन् भने आत्महत्या प्रयास गर्नेभन्दा धेरै आत्महत्याको बारेमा योजना बनाउनेहरू हुन्छन् । योजना पनि नबनाएर मर्न पाए आनन्द हुन्थ्यो भन्नेमध्ये पनि धेरै हुन्छन् । मर्नको लागि तयार भएका मान्छेलाई डिप्रेसनमा परेको भनेर भन्ने गरिन्छ । नेपालमा झण्डै ८ देखि १० लाखसम्म डिप्रेसनका बिरामी हुन सक्ने आचार्यको आकलन छ । मानसिक समस्या भएका त झण्डै ६० लाख जना रहेको उनी बताउँछन् ।

कोभिड १९ ले नेपाली समाजको सामाजिक आर्थिक र मानसिक स्वास्थ्यको विषयमा गरिएको एक अध्ययनले बन्दाबन्दी, आइसोलेसन, सामाजिक दुरी, क्वारेन्टिन आदिले नेपालीको समग्र शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक जीवनशैलीमा असर गरेको छ । लकडाउनका कारण मनोरञ्जनका सबै क्षेत्र बन्द गरिएको छ । सिनेमा हल, जिम, हेल्थ क्लब, मन्दिर, गुम्बा, चर्च र मस्जिदलगायत सांस्कृतिक केन्द्रहरू बन्द छन् । धार्मिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ । यसले गर्दा मान्छेमा डर, चिन्ता र अनिश्चितता पैदा गरेकोले यसलाई तुरुन्तै सम्बोधन गर्नु आवश्यक रहेको उल्लेख गरेको थियो । यो रिपोर्ट सामाजिक मनोरोगसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल सेज जर्नलमा प्रकाशित छ ।

अर्काेतर्फ विश्व स्वास्थ्य संगठनले पनि २०३० सालसम्म विश्वमा सबैभन्दा धेरै मृत्युको कारण डिप्रेसन हुने प्रक्षेपण गरेको छ ।