भरुवा बन्दूकसहित पाल्पामा दाजुभाइ पक्राउ

पाल्पाः रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको बल्गामा अवैध भरुवा बन्दूकसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले आज एकै परिवारका दाजुभाइलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भुवनपोखरीका ४७ वर्षीय भोजबहादुर र २१ वर्षीय दीपेन्द्र खाम्चा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनुभयो । मुझुङ्ग प्रहरी कार्यालयको टोलीले आज बिहान १० बजेतिर उनीहरुलाई बन्दूकसहित पक्राउ गरेको हो । उनीहरुका घरमा अवैध भरुवा बन्दूक रहेको स्थानीय बासिन्दाको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा हतियार फेला परेपछि नियन्त्रणमा लिइएको जनाएको छ ।