नेकपाको गाईगोठमा आगो लगाएको आरोपमा पक्राउ, कांग्रेसको प्रदर्शन

धनुषा : धनुषामा नेकपाका सदस्यको गाईगोठमा आगो लगाएको आरोपमा प्रहरीले कांग्रेस कार्यकर्तालाई पक्राउ गरेको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया भवाडीमा नेकपाका प्रदेश २ सदस्य पल्टी देवी यादवको गाईगोठमा आगो लगाएको आरोपमा प्रहरीले कांग्रेस कार्यकर्तालाई पक्राउ गरेको हो । । साउन २४ गते राति नेकपा नेतृको गाईगोठमा आगो लगाएको आरोपमा कांग्रेसका कार्यकर्ता सुरेश यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले साउन २९ गते साँझ पक्राउ गरेपछि कांग्रेसले इलाका प्रहरी कार्यालय महेन्द्रनगर घेराउ गरेको हो ।

कांग्रेस नेता कार्यकर्ताले शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगर घेराउ गर्दै आफ्ना कार्यकर्तामाथि झुटा मुद्दा लगाइएको भन्दै खारेज गर्न माग गरेका छन् । ‘निर्दोष व्यक्तिलाई फसाउन मिल्दैन’, ‘प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नारा लगाउँदै इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् । आफ्ना कार्यकतालाई प्रहरीले नछोडे कडा आन्दोलन गर्ने कांग्रेसका क्षिरेश्वरनाथ नगरपालिकाका अध्यक्ष एवं वडा नम्बर १ का जननिवार्चित अध्यक्ष लालबाबु यादवले बताए ।

नेकपा नेतृ यादवको गाईगोठमा लगाइएको आगोमा परेर एक गाई, एक बाछा र एक बाछी जलेर मरेका छन् भने गाईगोठ जलेर पाँच लाखको क्षति भएको थियो ।