पश्चिम नवलपरासीमा छ्यापछ्यापती कुखुरा, एकै रातमा ढाई केजीका हुन्छन् ?

 

वेनीमाधव वस्याल, नवलपरासी : पश्चिम नवलपरासीमा भारतीय सिमावर्ती क्षेत्रबाट अबैध रुपमा ल्याइएको बोइलर कुखुराको मासु बिक्री वितरण गर्दै आएको देखिएको छ । भारतीय बजारमा नेपाली रु. १५० रूपैयाँमा मासु बिक्री भएको मासु नेपाली सिमावर्ती क्षेत्र गेरमा, महेशपुर, भुजहवामा रु. २५० रुपैयाँमा किनबेच भइरहेको छ ।

पाल्हीनन्दन बेलासपुर बजारमा ल्याएको कुखुराको मासु रु. ३०० रुपैयामा बेच्ने गरेका छन् । लुकाइछिपाई गरी परासी क्षेत्रमा ल्याएको कुखुरा उपभोक्ताहरुले रु ४०० रुपैयाँमा बिक्री वितरण गर्ने गरिन्छ ।

यसबाट अबैध रुपमा भन्सार छलेर ल्याइएको कुखुरा हो भन्ने स्पष्टै देखिन्छ । पाल्हीनन्दन–६ का सुरज गुप्ताले सिमानामा कुखुरा पालन व्यवसाय सञ्चालन गर्ने व्यवसायको कुखुरा एकै रातमा दुई–ढाई किलोका हुने र बिहान फर्मको नाममा बजारमा पठाउने गरिएको बताउनुहुन्छ । तस्करी गर्ने व्यक्तिले माग गरे अनुसार कुखुरा र चल्लाहरू सम्बधित स्थानमा डेलिभरी गर्दा बास्तविक नेपाली कुखुरा पालन गर्ने व्यवसायी मारमा परेको गुप्ताले बताउनुभयो ।

गत सोमबार रु. ५ लाख ३९ हजार ६ सय मुल्य बराबरको २ वटा मोटरसाइकल सहित अवैध कुखुरा र चल्ला सशस्त्र प्रहरी नवलपरासी पश्चिमले नियन्त्रणमा लिएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं ६ राजाबारीमा भारतीय मोटरसाइकलमा राखी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा करिब ३९ हजार ६ सय मुल्य बराबरको ४४ गोटा (१ सय ३२ किलो) बोइलर कुखुरा सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा पोस्ट सशस्त्र प्रहरी नायब निरीक्षक कोमल यादवको कमाण्डमा खटिएको टोलीलाई देखेपछि मोटरसाइकल सहित कुखुरा फालेर भागेका थिए । नियन्त्रण लिइएको मोटरसाइकल र बोइलर कुखुराको १ लाख ३९ हजार ६ सय बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही गाउँपालिका वडा न. ६ सनई स्थित भारतबाट अवैध रूपमा नेपाल ल्याउदै गरेको ४ लाख मुल्य बराबरको ५५ कार्टुन ५ सय गोटा बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल नं २६ गण का सशस्त्र प्रहरी निरीक्षक जनकजन भन्डारीको कमाण्डमा खटिएको टोलीलाई देखेर भागे पछि उक्त ५५ कार्टुन सहित कुखुराको चल्लाहरू नियन्त्रणमा लिएर नष्ट गरिएको सशस्त्र प्रहरी गण नं २६ का एस. पी. महेश अधिकारी बताउनुभयो । बोइलर कुखुरा र चल्लाहरु सोमबार स्थानियहरुको रोहबरमा नष्ट गरिएको अधिकारीले जानकारी दिनुभयो ।