चितवन प्रशासनले भन्यो : भदौ १५ गतेसम्म यात्रुबाहक सवारीसाधन ठप्प पारौँ

चितवन। चितवन प्रशासनले छोटो दूरीका यात्रुबाहक सवारीसाधन पनि सञ्चालन नगर्न निर्देशन दिएको छ। सार्वजनिक सूचना जारी गर्दै प्रशासनले भदौ १५ गतेसम्म छोटा, मध्य र लामा दूरीका यात्रुबाहक सवारीसाधन नचलाउन निर्देशन दिएको हो।

यसअघि चितवनमा छोटो दूरीका सवारीसाधन सञ्चालन हुँदै आएका थिए। दुई दिनअघि प्रशासनले राति ९ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गर्न सूचना जारी गरेको थियो।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि थप कडाई गरिएको हो। प्रशासनले सिनेमा हल, पार्टीप्यालेस, व्यूटीपार्लर, शैलुन, डान्सबार, जिमखाना, स्वीमिङपुल सञ्चालन नगर्न तथा फुटपाथ तथा खुल्ला ठाउँमा ठेला, अटो रिक्सा र साइकलमा व्यापार, व्यवसाय नगर्न निर्देशन दिएको छ।