‘छिमेकीको अतिक्रमणकारी नीति, पिलर उखेल्दा समस्या’

काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताउनुभएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपस्थित हुनुभएका गृहमन्त्री थापाले छिमेकीको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताउनुभएको हो ।

सिमानामा रहेका पिलर उखेलेर फालिदिने, नेपाल भित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको उहाँले बताउनुभयो । ‘हाम्रा छिमेकीको अतिक्रमणकारी नीति र चिन्तन छ’ उहाँले भन्नुभयो, ‘पिलरहरु उखेलेर फाल्दिने तथा नेपालभित्र ल्याएर गाडने यस्ता अतिक्रमणकारी नीति पनि सीमा समस्याको पछाछि एउटा कारण देखिन्छ ।‘छिमेकीको यस्तो प्रवृति नहटदासम्म सीमा समस्या रहिरहने छ ।’

सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने गृह मन्त्री थापाको भनाई छ । नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने समेत उहाँले बताउनुभयो । सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले जानकारी दिनुभयो । उहाँले सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने बताउनुभयो ।

सीमा नक्शा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाई छ । उहाँले नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको बताउनुभयो ।