चितवनमा मोटरसाइकल हराउने धेरै, पाउने थोरै

चितवन :  साउन महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय चितवनमा ९ वटा मोटरसाइकल हराएको उजुरी पर्‍यो । आर्थिक वर्ष ०७६र७७ को वर्षभरिमा प्रहरीमा ७५ वटा मोटरसाइकल हराएको उजुरी परेको सङ्ख्यालाई हेर्ने हो भने हराएका धेरै छन् तर भेट्टाएर मोटरसाइकल धनीले पाएका उदाहरण भने निक्कै कम छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ – जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्य थापा यो तथ्यलाई हेर्दा मोटरसाइकल चोरीका घटना बढेको देखिएको बताउँछन् । हराएका तुलनामा मोटरसाइकल धनीले पाउने सङ्ख्यामा भने निक्कै कमी भएको उनले जानकारी दिए ।

‘मोटरसाइकल हराउने सङ्ख्या बढ्दो छ । हामीले चोरी गर्ने व्यक्तिलाई पनि पक्राउ गरेर कारबाही गरेका छौँ,’ उनले भने, ‘७५ वटा मोटरसाइकल हराएको अघिल्लो वर्ष हामीले नौ जनालाई चोरीको मोटरसाइकलसहित पक्राउ गरी मुद्दा चलाएका छौँ भने यो साउनमा मात्रै ५ जना चोरीको मोटरसाइकलसहित पक्राउ परेका छन् ।’

१३ महिनामा चोरी भएका मोटरसाइकलमध्ये धनीले भने एउटा मात्रैले फेला पारेका छन् । ‘गएको वर्ष नै हो एउटा स्कुटी धनीले लगेको तर अरू कसैले फेला पारेका छैनन्,’ उनले भने ।

चितवनमा चोरी भएको मोटरसाइकल बाहिरी जिल्लामा लैजाने र बाहिरबाट चितवन ल्याइने हुँदा सम्बन्धित धनीले फेला नपार्ने गरेको पाइन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दयाकृष्ण भट्टले चोरीका अधिकांश मोटरसाइकल स्वरूप नै परिवर्तन गरेर चलाउने गरेकाले पत्तो लगाउन नसकिएको बताउए ।

कतिपय चोरीका मोटरसाइकलमा नक्कली नम्बर राख्ने र नक्कली बिलबुक बनाएर पनि बिक्री गर्ने गरेको पाइएको छ ।

‘कति मान्छेले सस्तोमा मोटरसाइकल पाइयो भनेर किन्छन् तर त्यो मोटरसाइकल चोरीको हो कि हैन भनेर बुझ्न जरुरी छ,’ ट्राफिक प्रहरी निरीक्षक भट्टले भने ।

.