नेकपा विभाजन हुँदैनः प्रधानमन्‍त्री ओली

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाभित्र जस्ता खालका विवाद देखिए पनि पार्टी विभाजन नहुने बताएका छन् ।

पार्टीभित्रको विवाद ठूलो समस्या नभएको र आफूले एकता बचाउन चुप बसेर कोसिस गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । अन्नपूर्ण मिडिया नेटवर्कको एपीवान एचडी टेलिभिजनमा बुधबारबाट सुरु भएको कार्यक्रम ‘द बाभ्रो डेल्टा सो’ का लागि पत्रकार भूषण दाहाललाई अन्तर्वार्ता दिँदै नेकपा अध्यक्ष ओलीले अबको ५ दिनभित्रै पार्टीभित्र नयाँ सिनारियो देखिने उल्लेख गरे ।

‘म कसैप्रति आरोप लगाइरहेको छैन । अस्ति पत्रकार सम्मेलन भयो । मैले कुनै जवाफ पनि दिइनँ । तपाईं देखिरहनु भएको छ, अरू साथीहरू बोलिरहनु भएको छ । म चुप लागेर बसेको छु । त्यसकारण मेरो सम्पूर्ण प्रयास पार्टी मिलाउने, पार्टीलाई एकताबद्ध राख्ने, फुट्न नदिने नै हुन्छ ।

कतिपय साथीहरू फुटे फुट्छ भन्दै पत्रकार सम्मेलनमै जुनसुकै परिणामका लागि तयार हौं भन्ने खालका अभिव्यक्ति दिइरहनु भएको छ । मैले त्यसको कुनै जवाफ दिएको छैन । म के भन्न चाहन्छु भने पार्टी फुट्दैन । र, फुटाउन कसैले सक्दा पनि सक्दैन’, प्रधानमन्त्री ओलीले भने, ‘हप्ता–दस दिन होइन, हप्ताभन्दा यतै ५ दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनारियो । भोलि १ भनेर गन्न सुरु गर्नुहोला ।’

नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने बुधबारै काठमाडौंको थापागाउँमा गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग पार्टीभित्र देखा परेका विषयमा सुझावका लागि भन्दै छलफल गरेका थिए । अर्कातिर दुई अध्यक्षबीच संवाद गराउन र विवाद टुंग्याउन दोस्रो पुस्ताका नेताहरूले भित्री रूपमा छलफल पनि बाक्लो बनाएका छन् ।

महासचिव विष्णु पौडेलले बुधबारै अध्यक्ष दाहाललाई खुमलटार पुगेर भेट गरेका थिए । उपाध्यक्ष वामदेव गौतमले पनि वरिष्ठ नेता माधव नेपाललाई भेटेका थिए । शंकर पोखरेल, जनार्दन शर्मालगायत नेताहरूले दुवै अध्यक्षसँगको छलफल बाक्लो बनाएका छन् । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।