क्यान्सर अस्पतालका ३० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा

चितवन : चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ३० जना स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिनमा राखिएको छ। एक जना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि ३० जना स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिनमा राखिएको हो । जस मध्ये क्वारेन्टिनमा राखिएकामध्ये ६ जना डाक्टर हुन्।

मंगलबार गरिएको परीक्षणका क्रममा चितवनमा डाक्टर, एक नर्स, एम्बुलेन्स चालक तथा अस्पतालका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टि भएको थियो।

उनीहरूमध्ये एक नर्स क्यान्सर अस्पतालकी हुन्। संक्रमित डाक्टरले भरतपुर अस्पताल र मौलाकालिका अस्पतालमा काम गर्दै आएका थिए।

यहाँ मंगलबार नै इच्छाकामना गाउँपालिकाका अर्का एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको थियो। त्यसैगरी, नारायणी सामुदायिक अस्पतालका दुई जना कर्मचारी र एक जना एम्बुलेन्स चालकमा कोरोना पोजेटिभ देखिएको थियो।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार कोरोना देखिएकी नर्सको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य ७ जना नर्सहरूलाई क्वारेन्टिनमा राखिएको छ । उनीसँग सम्पर्क भएको हुनसक्ने ६ जना डाक्टर, नर्स र कर्मचारीहरू गरी बाँकी २३ जनालाई होम क्वारेन्टिनमा बस्न भनिएको छ।

उनीहरू सबैको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको डा गौतमले बताए। अस्पतालका सूचना अधिकारी गृहनारायण महतोले कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्यकर्मीहरूमा चिन्ता थपिएको बताए। स्टाफ नर्समै संक्रमण देखिएपछि उनले काम गर्दै आएको मेडिकल अंकोलोजी विभागको काम रोकिएको उनले बताए।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड १९ हेर्ने अधिकृत गिताञ्जली ढकालका अनुसार चितवनमा अहिलेसम्म १ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यहाँको ल्याबमा गरिएको परीक्षणका क्रममा ४ सय २९ जनामा संक्रमण पुष्टि भएको तथ्याकं छ ।