सम्पादकीय : संक्रमण रोक्न आफैं सचेत बनौँ

नेपालमा विदेशबाट आएका केही व्यक्तिमा कोरोना संक्रमण देखिएको अवस्थामा लकडाउन गरियो । लकडाउन गरिएपनि भारतबाट सिधै वा लुकिछिपी आउने नागरिकका कारण कोरोनाको संक्रमण दर एक्कासी बढ्यो । लकडाउन कडा बनाउनुपर्ने समयमा खुकुलो पारिएपछि भने यसको संक्रमण २० हजार नाघ्यो । क्वारेन्टिनमा बस्नेलाई संक्रमण हुनु नौलो कुरा पनि भएन । व्यवस्थित क्वारेन्टिन भयो भने समयमा रिपोर्ट आउने र आइसोलेसनमा पठाउने काम गर्न सकिन्छ । तर केही समयदेखि समुदाय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्ता फ्रन्टलाइनरमा कोरोना संक्रमण देखिन थालेको छ । संक्रमणको आशंका भएकाहरुले आफ्नो आनीवानी सुरक्षित गरेका पनि छैनन् । आशंका भएका व्यक्तिहरु खुलेआम समुदायमा घुमेका छन् ।
यसअघि भारतको सिमानाबाट सम्बन्धीत पालिकाले गाउँमा लगेर क्वारेन्टिनमा राख्थे । लकडाउन खुलेपछि सिमानाबाट पास भएको व्यक्ति पनि कैयौँ दिन लगाएर मात्र घर गएको छ । बाटैमा बास बसेको छ, समुहमा हिँडेको छ । को मनिस कहाँ झरेको थियो, त्यो को थियो भन्ने कुनै जानकारी नै छैन । कन्ट्रयाक ट्रेसिङगर्ने प्रमाण र सम्पर्कहरु पनि छैनन् । रातो प्लेटका सवारी साधनले क्षमताभन्दा बढी यात्री र लाग्ने भाडाको चार गुणा सम्म भाडा असुल गरेका छन् । आम जनतालाई बाध्य पारेर हिडाइएको छ तर रातो प्लेट भएपछि सुरक्षाकर्मीले पनि कुनै चेकजाँच नगरी छाडिदिएका छन् । कालो प्लेट भए कडिकडाउ गर्ने, रातो भए वास्ता नगर्ने प्रवृत्ति पनि बढेको छ । प्रहरीको आँखा छलेपछि हुन्छ भन्ने प्रवृत्तिले गाउँघरमा कोरोना भित्रिइरहेको छ । केही समयदेखि भारतबाट आउने क्रम घटेपनि कोरोना संक्रमणको दर बढेको छ । यो हाम्रै लापरबाहीले हो ।
सुरक्षाकर्मी जस्तै समूहमा बस्नेहरुमा संक्रमण देखिनु र स्वास्थ्यकर्मीसँग आम नागरिकको दैनिक नजिकको सम्बन्ध हुनुले यो संक्रमणबाट अझै बढी डराउनुपर्ने खतरा भएको छ । बिरामी परेपनि स्वास्थ्यकर्मीको साथ चाहिने, संक्रमित भएनभएको पत्ता लगाउन पनि नसकिने अवस्था एकातर्फ छ भने मेरो परीक्षण गरौँ भन्दै कोही गए मात्र संक्रमित देखिने अवस्था आएको छ । चितवनमा प्रहरीमा तथा थुनुवा, सार्वजनिक सवारी साधनका चालक तथा सार्वजनिक समारोहमा पुगेका व्यक्तिमा कोरोना संक्रमण देखिनुले खतराको घण्टी बजेको छ । यस विषयमा स्वयम् व्यक्ति सचेत हुनुपर्ने अवस्था आएको छ । राज्यको मुख मात्रै ताकेर बसेको अवस्थामा कोरोना संक्रमण भयावह हुने अवस्थामा पुग्छ । आम नागरिकले सचेतना अपनाउँदै अनावश्यक काममा घरबाहिर ननिस्कने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सेनिटाइजर गर्ने, भौतिक दूरी कायम गर्ने, जथाभावी नछुने गर्नाले केही हदसम्म भएपनि कोरोना नियन्त्रणमा सघाउ पुग्छ ।