वाउ महोत्सव सुरु

काठमाडाैं :वुमन अफ दी वर्ल्ड अर्थात् वाउ, विश्वका महिलाहरूको महोत्सवको चौथो श्रृंखला सुरु भएको छ ।

वाउ विश्ववयापी आन्दोलन हो । लैगिंक समानता, महिला तथा किशोरीले हासिल गरेका उपलब्धि मनाउनु र संसारभरि नै उपलब्धि हासिल गर्नबाट रोक्न सक्ने अफ्ठ्याराहरूको पहिचान गर्नु यसको उद्देश्य हो ।

महिलाका समस्याबारे गहन छलफलका साथै कथा, कविता, गीत, संगीत र कलामार्फत प्रस्तुत गरिने रंगीन कार्यक्रम यसपटक कोभिड १९ कारण भर्चुअल रुपमा सुरु भएको हो ।

ब्रिटिस काउन्सिल नेपालले आयोजना गर्दै आएको वाउको पहिलो अंकमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले आदिवासी जनजाति महिला र सशक्तीकरण विषयमा प्राकृतिक ज्ञान र सीपले भरिपूर्ण आदिवासी महिलालाई आर्थिक सशक्तीकरण कसरी गर्न सकिन्छ भन्‍ने विषयमा बहस गरेकी छिन् ।

छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनी मायाा माझीले आदिवासी महिलाले कानुनी र सामाजिक रुपमा राज्यको विभेद सहदै आएको आरोप लगाइन् । उनले चितवन राष्ट्रिय निकुञ्जमा भएको चेपाङको हत्या र चेपाङ बस्तीमा भएको आगलागीको घटनालाई इंगित गर्दै राज्यको कानुन नै आदिवासीविरुद्ध भएको खेद प्रकट गरिन् । भन्छिन्, ‘‘आदिवासी महिलाको प्राकृतिक स्रोत-साधनसँग अन्योन्याश्रित सम्बन्ध हुन्छ । प्राकृतिक भूमी नै उनीहरूको मातृभूमि हो । त्यो भूमिमा उब्जेका कुरालाई पुन: उमार्न सकिने गरी उनीहरू प्रयोग गर्छन् । प्रकृतिको नाश आदिवासीले होइन, सरकारले गरिरहेको छ ।’’

यस्तै, करिब १३ वर्षदेखि लिम्बु शैलीका ढाका उत्पादन गर्दै आएकी ढाका व्यवसायी कल्पना योङ्हाङले ढाकाको कपडा सदियौँदेखि किराती संस्कृति र पहिचानको अभिन्‍न अंग रहिआएको बताइन् । उनले आदिवासीको सीपले उनीहरूलाई आर्थिक रुपमा स्वावलम्बी हुन मद्दत गरेको सुनाइन् । ०६४ मा १५ हजार ऋण लिएर ढाकाको व्यवसाय खोलेकी योङ्हाङले एउटा हाते तानबाट सुरु गरेको व्यवसायमा अहिले २ सय तान छन् ।

वाउ महोत्सव साउन २५ देखि असोज ७ सम्म साँझ ५ देखि ६ बजेसम्म हुनेछ । आगामी कार्यक्रममा सामाजिक विषयदेखि बोक्सी प्रथा, शैली बस्नेतसँग सातवटा हिमालको भर्चुअल दर्शन, महिला र मानसिक स्वास्थ, बालसाहित्य र लैगिक समानता, समलिंगी भावना र बाहिरो महिलाबारे छलफल हुनेछ ।

सन् २०११ मा लन्‍डनबाट मनाउन सुरु भएको वाउ महोत्सव सन् २०१७ बाट नेपालमा पनि मनाउन थालिएको हो । महोत्सवको पहिलो र दोस्रो श्रृंखला काठमाडौँ गरिएको थियो भने तेस्रो वाउ मधेसका रुपमा जनकपुरमा भएको थियो ।