चियाका पारखिहरुका लागि चितवनमा मट्का चिया

चितवनः स्वदेशमा केही गर्ने कि बिदेश जाने ढुलमुलमा रहेका २६ वर्षिय फणिन्द्र न्यौपानेले आफ्नो होटलको अनुभव संगाल्दै युवा पुस्तालाई लक्षित गरेर चियादानी नामक चियापसल संञ्चालनमा ल्याउनुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० सप्तगण्डकी चोक नजिकै उहाँले मासिक रु १५ हजार भाडा तिर्नेगरी चियादानी संञ्चालनमा ल्याउनु भएको हो ।
चिया पिउन पुग्ने जो कोही पनि त्यहाँको सजावट देखेर दङ्गपर्छ । उहाँले भन्नुभयो “फालिएका सामाग्री प्रयोग गरेर मैले चियापसल सुरु गरे ।” पुराना टायरको टेवल र कुर्सी छन् । थोत्रो बिक्रम ट्याम्पोमा काउन्टर र बसेर चिया खाने ठाउँ छ । सजावट संगै आनन्दीत पनि वनाईएको छ । उहाँले थप्नुभयो “झुलामा झुल्दै चिया पनि पिउन सक्नुहुन्छ ।” पुराना सामानले सजाय पनि कोठा वातावरण अनुकुलित छ । सिलिङ्गमा साईकलका पुराना रिङ्ग भित्र बत्ति वलिरहेको देख्न सकिन्छ ।

सानो ठाउँमा चटक्क मिलेर तन्नेरीहरु चियामा रमाई रहेको देख्न पाईन्छ । न्यौपानेले भन्नुभयो“म कहाँ ३० थरिका बिभिन्न थरि चिया पाईन्छ ।” धेरैको आकर्षण मट्का चियामा छ । माटाको तातोतातो भाँडामा चियाको छुट्टै आनन्द लिन युवा संगै वृद्धवृद्धा पनि आईपुग्छन् । मट्का संगै स्पाईसि, एप्पल, मेरो चिया, जिंजर लगाएतका चिया चियादानीमा पाईन्छ । न्यौपानेका अनुसार प्रति कप रु १० को कालो चिया देखि रु ७० पर्ने मट्का वा स्टवेरी चिया सम्म त्यहाँ पाईन्छ ।
न्यौपानेलाई भाई सुबाष र एक जना कर्मचारीले साथ दिई रहेका छन् । बिदेशीने तर्खरमा लाग्नुभएका न्यौपानेलाई पोखरामा चलि रहेको चियादानीले ध्यान खिच्यो । सामाजिक सञ्जालमा तन्नेरीहरुको समुहमा आवद्ध न्यौपानेले सरसापट र ऋण गरेर यही व्यवसाय थाल्नुभयो । उहाँले भन्नुभयो “दैनिक १ सय ५० हाराहारी ग्राहक आउँछन् ।” लकडाउन अघि पसल तयार गरेको भए पनि लकडाउन पछि मात्र खुलेको हो । दैनिक रु १० हजार हाराहारीको व्यापार भएको उहाँको भनाई छ । सबै राम्रो भएको भन्दै उहाँले माटाका गिलाँस पाउन मुस्किल भएको बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ फुलबारीका न्यौपाने संग यस अघि सेन्ट्रल पाम र मितेरी होटलको अनुभव छ । उहाँले भन्नुभयो “फरक तरीकाले काम गर्न सक्यो भने यही हुँदो रहेछ । विदेश जानु पर्दैन ।” कोरोना संक्रमण सकिए पछि चियादानीलाई बिस्तार गर्ने सोच समेत आँफुमा आएको उत्साहीत हुँदै उहाँले सुनाउनु भयो ।