भारततिर ढल्केको नेपाललाई ठीक ठाउँमा ल्याउँदै छौं : प्रदीप ज्ञवाली

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध छ। त्यसैले दुवै देशबीच नेताहरुको भ्रमण आदानप्रदान, अनुभव साटासाट तथा एकअर्काका असल अभ्यास र सफलताबाट सिक्ने क्रम विगतदेखि नै चलिरहेको छ। यो स्वभाविक हो।

तर, यसबारे अतिरञ्जित र पूर्वाग्रही ढंगले टिप्पणी गर्ने गरिएको छ। नेकपा के मान्यतामा दृढ विश्वास गर्छ भने माक्र्सवादका सिद्धान्तहरु सार्वभौम छन्, ती सबै ठाउँमा लागू हुन्छन्। तर, हरेक देशको परिस्थिति विशिष्ट हुन्छ। त्यसैले, क्रान्तिको बाटो वा क्रान्तिपछि स्थापना हुने जनवादी वा समाजवादी व्यवस्थाका मोडलहरु अरु मुलुकमा दुरुस्त मिल्दैनन्। ती कहीँ पनि आयात वा निर्यात हुँदैनन्। तिनलाई नक्कल गर्न सकिन्न।

माक्र्सवादको सिर्जनात्मक प्रयोग नेकपाले अवलम्बन गरेको एउटा असाध्य महत्वपूर्ण मान्यता हो। यही मान्यताको आधारमा तत्कालीन नेकपा मालेले २०४६ सालको चौथो महाधिवेशनबाटै माओत्से तुङ विचारधारालाई मार्गदर्शक सिद्धान्त मान्ने दृष्टिकोण छाडिसकेको हो।

माओत्से तुङलाई हामी महत्वपूर्ण नेता मान्छौं। उहाँका योगदानहरुबाट प्रेरणा पनि लिन्छौं। तर, उहाँले गर्नुभएको योगदान चिनियाँ क्रान्तिको सन्दर्भमा हो। उहाँका विचारहरु संसारभर लागू हुँदैनन्। नेपालमा पनि लागू हुँदैनन्। हामी झण्डै ३० वर्ष अगाडि नै यस विषयमा प्रष्ट भइसकेका हौं।

नेकपा–माओवादीले लामो समय माओवादलाई आफ्नो मार्गदर्शन मान्यो। त्यसभित्र पनि बहसहरु चल्दै आएका थिए। दुई वर्षअघि पार्टी एकीकरण गर्दा नै माओवादी धारले समेत माओवादलाई छोडेर नेकपा निर्माण गरेका हौं।

चिनियाँ कम्युनिस्ट पार्टीलाई हामी मित्र मान्छौं। चिनियाँ क्रान्तिबाट सिक्नुपर्ने थुप्रै सकारात्मक कुरा छन्। आज चीनले अभूतपूर्व प्रगति गरेको छ। त्यो चाहिँ विश्वका समाजवादीका निम्ति प्रेरक बन्नसक्छ र त्यसका अनुभवबाट सिक्नुपर्छ। तर, हामी चिनियाँ क्रान्तिको पनि नक्कल गर्दैनौं। चिनियाँ समाजवादी मोडलको पनि हामीले हुबहु अनुकरण गर्दैनौं।

हामीले अवलम्बन गरेका बाटो फरक छन्। चीनले आफ्नै खालको बहुदलीय मोडल तय गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा अरु ससाना पार्टीको सहयोग रहेको एउटा राजनीतिक मोडल उसले अवलम्बन गरिरहेको छ। हामी बहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्रमा विश्वास गर्छौं। र, यही संविधानको बाटो, आवधिक निर्वाचनमा बहुमत हासिल गरेर, जनताको मन जितेर प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरेर समाजवाद निर्माण गर्न सकिन्छ भन्नेमा विश्वास गर्छौं। हाम्रो समाजवादमा पार्टीहरुबीच प्रतिस्पर्धा हुन्छ भन्ने मान्यता राख्छौं, बहुलता र बहुलवादमा विश्वास राख्छौं।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीले अवलम्बन गरेको बाटो अलगअलग छन्, आआफ्ना मुलुकका विशेषताअनुसारका छन्। चीनको इतिहास, चीनको सामाजिक संरचना र चीनले हिँडेको बाटो उसको आफ्नै खालको छ। नेपालको इतिहास, नेपालको भूबनोट, सामाजिक संरचना, सांस्कृतिक विरासत र हामीले हिँडेको बाटो फरक छ।

यो फरकलाई नछुट्याइकन नेकपा चिनियाँ कम्युनिस्ट पार्टीतर्फ ढल्क्यो, अब सी चिनफिङ विचारधारा अवलम्बन गर्न थाल्यो भन्नु एकदम आग्रहपूर्ण टिप्पणी हो। हामीले चीनका अनुभवबाट सिक्न खोजेका हौं। उहाँहरुले आज यो सफलता कसरी प्राप्त गर्नुभयो भन्ने त मलाई लाग्छ, नेकपाले मात्र होइन संसारभरका मुलुकहरुले सिक्नुपर्ने कुरा हो। हामीले मुख्यगरी चीनबाट दुई वटा कुरा सिक्न सक्छौँ।

पहिलो हो, गभर्नेन्स। सी चिनफिङ नेतृत्वमा आएपछि भ्रष्टाचारविरुद्ध एउटा अभियान छेड्नुभयो र बिम्बात्मकरुपले उहाँले टाइगर्स टु फ्लाइ अर्थात् ठूला पदाधिकारीदेखि साना व्यक्तिसम्म सबैलाई कडा नियम लागू गर्ने भन्नुभयो। हामीकहाँ ‘ठूला माछादेखि साना माछासम्म’ कसैलाई नछाड्ने भनेजस्तै।

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले आफ्नो अनुभव साट्दा पटकपटक के भन्नुहुन्छ भने सत्तामा रहेको पार्टी विचलित हुने, भ्रष्ट हुने र आदर्शबाट च्यूत हुने जोखिम बढी हुन्छ। त्यसैले उहाँहरुले शुद्धीकरण अभियान चलाउनुभएको छ र कैयौं वरिष्ठ नेताहरु कारवाही भोगिरहेको, जेल परिरहेको, बर्खास्त भएको हामी सुन्छौं। यी अनुभव, सरकारमा रहेको पार्टीको गभर्नेन्स ९प्रशासन०, आफ्नै पार्टीभित्रको आन्तरिक गभर्नेन्स र उसले प्रदान गर्ने समग्र गभर्नेन्सको एउटा पाटो हामीले सिक्न जरुरी छ।

दोस्रो हो, चीनको विकास। चीनको विकास समकालीन इतिहासको चमत्कार नै हो। त्यसको रहस्य के होरु त्यो राम्रोसँग बुझ्नुपर्छ किनभने ४० वर्षको छोटो अवधिमा ७० करोडभन्दा बढी जनतालाई गरिबीको रेखाबाट माथि उठाउने काम चानचुने होइन। यो त संसारले नै सिक्नुपर्ने कुरा हो, किनभने त्यसो गरेर चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई मात्र गुन लगाएन। समग्र मानवजगतलाई गरिबीबाट मुक्त गर्न योगदान पुर्‍याएको छ। यसबाट सिक्नु गलत हो ररु त्यसो गर्दा सरकारमा रहेको पार्टी कसरी जनताको समस्यासँग, विकास निर्माणसँग, जनताको समृद्धिसँग जोडिन्छ भन्ने थाहा हुन्छ।

त्यसकारण, हाम्रा अनुभव आदानप्रदान मूलतः गभर्नेन्स, विकास र समृद्धि, सामाजिक तथा आर्थिक रुपान्तरणसँग सम्बन्धित छन्। बाँकी विषयहरुमा हाम्रा आफ्ना राजनीतिक प्रणाली फरक छन्, अन्य सन्दर्भ फरक छन्। हामी कुनैबेला संसारका वामपन्थीहरुबीच ‘युनिटी विदिन युनिफर्मिटी’ ९एकरुपताबीचको एकता० भन्ने पक्षमा थियौं। तर, अहिले हामी ‘युनिटी विदिन डाइभर्सिटी’ ९बहुलताबीचको एकता० गर्नुपर्ने निष्कर्षमा पुगेका छौं। किनभने कम्युनिस्ट पार्टीले अवलम्बन गर्ने क्रान्तिका मोडेल फरकफरक हुनसक्छन् र क्रान्तिपछि स्थापना हुने समाजवादका ढाँचा पनि खास समाजको धरातलीय यथार्थमा भर पर्ने कुरा हो। त्यसैले हामीले भिन्नभिन्न राजनीतिक प्रणाली अवलम्बन गरिरहेका समाजवादी मुलुकहरुसँग, कम्युनिस्ट पार्टीहरुसँग, भिन्नभिन्न भाइचारा पार्टीहरुसँगको सम्बन्धको दायरा फराकिलो बनाउँछौं।

आजको चीनसँग सिक्ने धेरै कुरा छन्। पछिल्लो कुरा गर्दा पर्याप्त समय पाएर पनि कैयौं विकसित देशहरु कोभिड–१९ सामु लडखडाइरहेका छन्। चीनले दुई महिनाको बीचमा कोभिडलाई नियन्त्रणमा लिएको हो नि। त्यसबाट पनि सिक्न सकिन्छ होला। धेरैले त्यसलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेर हेरे। तर जजसले स्वतन्त्रताका नाममा आवश्यक सुरक्षा व्यवस्था गर्न सकेनन् त्यहाँ स्थिति भयावह छ। राम्रा कुरा जहाँबाट पनि सिक्न सकिन्छ।