नहर अतिक्रमण , भरतपुरमहानगर शहरी क्षेत्र डुवानमा

चितवनः भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा शहरी क्षेत्र डुवानमा पर्ने गरेको छ । नारायणी लिफ्ट सिंचाई आयोजनाको नहरका कतिपय शाखाहरु पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकि डुवान हुने गरेको हो ।

नहरको कतिपय भाग पुरेर सडक बनाईएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवन समेत बनाईएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हुन नसक्दा शहरी क्षेत्र डुवानमा पर्ने गरेको हो । वर्षामा शहरी क्षेत्रमा परेको पानी नहर हुँदै जाने गर्दथ्यो ।

महानगरका मुख्य गरी १०, ११, १२ र ७ नम्बर वडाहरु डुवानमा पर्ने गरेका छन् । महानगरको मुख्य बसोबास रहेको क्षेत्र डुवानमा परेको हो ।

नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख ई. खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत् आउने नहर पूरै मासिएको छ । भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ । पाठकका अनुसार नहरमा कालोपत्रे तथा कच्चि सडक, भवन जस्ता संरचना बनेका छन् । कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुवानमा परेको उहाँले बताउनुभयो ।

पानीको निकास नभएपछि यहाँका सरकारी कार्यालय, निजी घरहरु, सडक क्षेत्र, खाली जमिन पानीले भरिने गरेको छ । खुल्ला रुपमा रहेका सार्वजनिक तथा निजी जमिनहरु यतिबेला पानीले भरिएका छन् ।

नारायणी लिफ्ट सिंचाई जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सरकारी निकायकै संरक्षणमा नहर अतिक्रमण हुँदा अहिले शहरी क्षेत्र डुवेको र खेतीयोग्य जमिनमा सिंचाई अभाव भएको बताउनुभयो । उहाँका अनुसार नहरको अन्तिम विन्दु प्रेमबस्ती लगायतका क्षेत्रमा नहरको पानी पुग्न नसक्दा सिंचाईमा समस्या हुने गरेको छ । रानाभाटले भन्नुभयो “नहर पुर्नुहुन्न भन्दा कसैले टेरेन, अहिले निकास नभएर समस्या भएको छ ।” पटक पटक आफूहरुले पहल गरेको भए पनि अतिक्रमण रोक्न नसकेको गुनासो उहाँले गर्नुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल नहर मासिएकै कारण शहरी क्षेत्र डुवानमा परेको बताउनुहुन्छ । जथाभावी विकासका नाममा सडक बनाउँदा वर्षाको समयमा समस्या देखिने गरेको उहाँले बताउनुभयो । नहर अतिक्रमण रोक्ने काममा आफूले सहयोग गर्ने भन्दै उहाँले यस क्षेत्रलाई डुवान हुन नदिन केरुङ्गा घोल व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

महानगर प्रमुख भएदेखि नै नारायणी लिफ्टको स्तरउन्नती गरी हिउँदमा समेत महानगर क्षेत्रमा सिंचाई गर्नुपर्नेमा जोड दिंदै आउनु भएकी दाहालले केरुङ्गा घोललाई यहाँको जमेको पानीको निकाससँगै सुन्दरता प्रदान गरिने बताउनुभयो ।

जनप्रतिनिधिहरुले नै बजेट विनियोजन गरेर नहरमा बाटो बनाउने काम भईरहँदा पानीको निकासमा समस्या पर्ने गरेको छ ।

लिफ्टले भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका ३ हजार ५ सय हेक्टर प्रत्यक्ष रुपमा सिंञ्चित गर्दै आएको छ । बि।सं। २०४० सालमा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिंचाईमा मिसाएर पश्चिम चितवनका अन्य वडाहरुमा पनि सिंचाई गरिदैं आएको छ ।

वर्षायाममा मात्रै सञ्चालन हुँदै आएको लिफ्ट स्तरोन्नती गरेर आउँदो वर्षबाट हिउँदमा समेत सिंचाई गर्ने तयारी गरिएको छ । नारायणी नदीबाट पानी तानेर नहरमार्फत् सिंचाई गरिंदै आएको छ ।

मुख्य शहरी क्षेत्रमा सिंचाईको आवश्यकता कम हुँदै गएपछि नहर संरक्षणमा समस्या भएको छ । त्यसको प्रभाव नहरको अन्तिम विन्दुमा रहेका किसानहरुलाई भने परेको छ । नहर अतिक्रमण गरे पनि उचित ढलको व्यवस्थापन गर्न नसक्दा पानी जम्ने समस्या आएको हो । पानी जमेसँगै डेंगु लगायतका रोगको समेत समस्या थपिने चिन्ता स्थानीयमा छ ।