विपद् व्यवस्थापनमा ध्यान देऊ

सम्पादकीय  : यस वर्षको सुरुआती समयमा देखिएको कोरोना र मनसुनसँगै भित्रिएको बाढीपहिरोका कारण देश सङ्कटमा छ । सरकारले जारी गरेको बन्दाबन्दी १२० दिनपछि खुले पनि कोरोना सङ्क्रमण घटेको छैन । कोरोना समुदायमा बिस्तार हुने खतरा बढेर गएको छ । बाढीपहिरोका कारण जनधनको क्षति हुने उपक्रम रोकिएको छैन । बस्तीहरु असुरक्षित भएका छन् । असुरक्षित बस्तीहरुलाई स्थान्तरण गर्नुपर्ने आवश्यकताप्रति सरकार गम्भीर हुन सकेको छैन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोका कारण मूल मुद्दाहरु ओझेल परेका छन् । अहिले नेकपाभित्र देखिएको विवाद विधि र प्रक्रियाको लागि कि पदको लागि भन्नेमा अन्योलता छ । दुई फरक पृष्ठभूमिबाट आएका पार्टीहरु मिलेर बनेको विशाल नेकपाका दुई जना अध्यक्ष छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा रहेका छन् । विद्रोहको पृष्ठभूमिबाट आएका अर्का अध्यक्ष प्रचण्डपक्षीय नेताहरु प्रधानमन्त्रीको रुपमा ओलीले व्यक्तिवादी चरित्र प्रदर्शन गरेको गुनासो गरिरहेका छन् ।
ओली चाहिँ आफूलाई काम गर्न नदिइएको र पार्टीभित्रैबाट असहयोग भएको अडानमा छन् । उनी प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न तयार छैनन् र आवश्यक परे पार्टी नै फुटाउनेसम्मको तयारीमा छन् । स्थायी कमिटीको बैठक स्थगित गरिदिएर उनले सङ्कटलाई अझ गहि¥याउने काम गरेका छन् । उता, असन्तुष्टहरुले ओलीको कदम अवैधानिक भएको जिकिर गरेका छन् । पार्टीलाई संकटबाट बाहिर ल्याउने मध्यमार्गी उपायहरुको खोजी भइरहे पनि तत्काल विवाद टुङ्गिन्छ भन्नेमा दुवै पक्ष विश्वस्त छैनन् । खासगरि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने अडानले सहमतिलाई पर धकेलेको छ । बलियो लोकतन्त्रका लागि दलहरु बलियो बन्नुपर्छ । देशलाई सही दिशा दिने दायित्व राजनीतिक दलहरुकै हो । राजनीतिक दलहरुभित्र आपसी प्रतिष्पर्धा हुन्छ, वैचारिक बहसहरु हुन्छन् । आफ्नो विचारलाई प्रमाणित गरेकै आधारमा वास्तविक नेता बन्छन् । यो उपक्रम चलिरहन्छ । आफूलाई प्रमाणित गर्नु वा शक्तिशाली बन्न खोज्नु अस्वभाविक हुनै सक्दैन । तर, विवाद विचारमा नभई पद र प्रतिष्ठाका लागि गरियो भने त्यसले समस्या निम्त्याउँछ ।
विवादलाई निरुपण गर्न नसक्दा त्यसले नेकपाको मात्र नभएर देशकै लागि दुर्भाग्यपूर्ण बनेको छ । नेपालका ठूला राजनीतिक दलहरुले विभिन्न कालखण्डमा विभाजनको पीडा भोगेका छन् । विभाजन कसैको लागि पनि हितकर हुँदैन । विभाजनले व्यक्तिको महत्वकांक्षा पूरा गर्ला तर लोकतन्त्रलाई कमजोर बनाउँछ । लोकतन्त्र कमजोर हुँदा र अस्थिरता बढ्दा जनतामा निराशा छाउँछ, देश पछि पर्छ । त्यसैले सङ्कटको बेला नेताहरुले वुद्धिमतापूर्ण निर्णय गर्नुपर्छ । त्याग गर्नेहरु महान् हुन्छन् । त्याग गर्नको लागि सबै तयार हुने हो भने समस्याको निकास निस्कछ । पार्टीभित्रको समस्या समाधान भए त्यसले देशलाई पनि फाइदा पुग्छ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक कलह समाधान गर्दै मुलुकमा देखिएको विपद् व्यवस्थापनका लागि चाँडो काम गर्नुपर्ने देखिन्छ ।