तीन स्थानमा सरकारी क्वारेन्टिन निर्माण गरिँदै

नवलपुरः सामुदायिक विद्यालयमा रहेका क्वारेन्टिन र आईसोलेसन हटाउने सरकारको निर्णयसँगै यहाँको मध्यविन्दु नगरपालिकाले छुट्टै क्वारेन्टिन निर्माण गर्ने भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले विद्यालय भित्रको क्वारेन्टिन हटाउँदै नगर क्षेत्रभित्र विभिन्न तीन स्थानमा क्वारेन्टिन निर्माण गर्न लागेको हो ।
मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले नगरपालिकाभित्र निर्माण भएका २६ वटै विद्यालयको क्वारेन्टिन हटाउने प्रकृया अगाडि बढाइएको बताउनुभयो । “विद्यालयमा निर्माण भएका क्वारेन्टिनमा भारत लगायत तेस्रो मुलुकबाट आउनुभएको नगरवासी बस्नुभएको छ” रानाले भन्नुभयो, “नयाँ आएका व्यक्तिलाई होम क्वारेन्टिनमा राख्दै विद्यालय खाली गराएर पठनपाठनको वातावरण सिर्जना गर्दैछौँ ।” होम क्वारेन्टिनमा बस्न नसक्नेहरुका लागि नगरपालिकाले नगरभित्रको विभिन्न तीन स्थानमा सरकारी क्वारेन्टिन निर्माण गर्न लागेको रानाले बताउनुभयो ।
नगरपालिकाको वडा नम्बर ३ ब्रम्हस्थान, वडा नम्बर १० मजुवा र वडा नम्बर ७ चोरमारामा क्वारेन्टिन निर्माणको प्रकृया अगाडि बढाइसकिएको रानाको भनाइ छ । “होम क्वारेन्टिनमा बस्न नसक्ने नगरपालिकाभित्रका १५ वटै वडाका नागरिकलाई हाम्रो क्वारेन्टिनमा राख्छौँ” रानाले भन्नुभयो, “क्वारेन्टिन निर्माण गर्दा सबै नगरवासीलाई पायक पर्ने ठाउँ तर समुदायभन्दा केही पर निर्माण गर्दैछौँ ।” मापदण्डअनुसारकै क्वारेन्टिन निर्माण हुने भन्दै उक्त क्वारेन्टिनमा बिजुली–बत्ती, खानेपानी, शौचालय, सरसफाइ लगायतका आवश्यक पूर्वाधार समेत हुने रानाको भनाइ छ ।
सामुदायिक विद्यालयबाट क्वारेन्टिन हटाइने भएपछि यहाँका विद्यालयहरुले विद्यार्थी भर्नाका लागि तयारी गरेका छन् । मध्यविन्दु–३ ब्रम्हस्थानस्थित आधारभूत विद्यालय ब्रम्हस्थानका प्रधानाध्यापक पूर्ण केसीले भदौ १ गते विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नेगरि तयारी अगाडि बढाइएको बताउनुभयो । विद्यालय उमेरका सबै बालबालिका विद्यालय भर्ना हुन् भन्ने उद्देश्यले शिक्षक अभिभावकसहित घरदैलो कार्यक्रम गरेर विद्यार्थी भर्ना अभियान सुरु गरिने केसीको भनाइ छ ।

खेलाडी र रेफ्रीलाई राहत
विश्वर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण खेलाडीहरुलाई समस्या परेको भन्दै जिल्लाका फूटबल खेलाडी तथा रेफ्रीलाई राहत प्रदान गरिएको छ ।
अखिल नेपाल फूटबल सङ्घ (एन्फा) को सहयोगमा जिल्लाका फूटबल खेलाडी र रेफ्री गरि २५ जनालाई राहत प्रदान गरिएको हो । कोभिड–१९ का कारण समस्यामा परेका जिल्ला स्तरीय लिगमा सहभागी फुटबल खेलाडी तथा जिल्लाका रेफ्रीलाई प्रतिव्यक्ति रु तीन हजारका दरले रकम प्रदान गरिएको नवलपुर जिल्ला फूटबल सङ्घका अध्यक्ष सेतमान पुनले बताउनुभयो । सहयोग रकम प्राप्त गरेका खेलाडीहरुले समस्याको यो समयमा जिल्ला फूटबल संघले गरेको सानो सहयोगले पनि ठूलो महत्व राख्ने भन्दै आगामी दिनमा खेलप्रति थप लगाव र प्रतिवद्ध हुन प्रेरणा मिलेको बताए ।