विद्युत महसुल वापत रु २१ करोड बढी सङ्कलन

नवलपुरः नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६र७७ मा विद्युत महसुल वापत रु २१ करोड तीन लाख ७२ हजार ३१० सङ्कलन गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले ९७ प्रतिशत सफलता प्राप्त गरेको जनाएको छ ।
प्रशाखा प्रमुख सुजन रिजालकाअनुसार कुल दुई करोड २२ लाख १५ हजार ६२३ यूनिट विद्युत बिक्रीबाट कार्यालयले सो रकम आम्दानी गरेको हो । कार्यालयले बिक्री गरेको विद्युतमध्ये घरायसी ग्राहकतर्फ एक करोड तीन लाख ६९ हजार ४५१ यूटि विद्युत बिक्रीबाट रु नौ करोड २४ लाख ६४ हजार आम्दानी गरेको रिजालले बताउनुभयो । कार्यालयले असार महिनामा मात्रै विद्युत महसुल वापत रु दुई करोड ६५ लाख ३९ हजार ८३ संकलन गरेको छ ।
गैँडाकोटमा वर्षेनि नयाँ ग्राहक थपिने क्रम बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष २०७६र७७ मा मात्रै गैँडाकोटका नौ वटा वडामागरि ५३३ जना नयाँ ग्राहक थपिएका कार्यालय प्रमुख रिजालले बताउनुभयो । प्रशाखासँग अहिले १० हजार भन्दा बढी ग्राहक रहेको भन्दै आफूहरुको कार्यालयलाई प्रशाखाबाट स्तरोन्नीगरि शाखा बनाउने तयारी भइरहेको रिजालले बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका १८ वटै वडाको विद्युत महसुल गैँडाकोटमा बुझाउनुपर्नेगरि शाखा बनाउने उहाँले बताउनुभयो । हाल गैँडाकोटका वडा नम्बर १० देखि १८ सम्मको विद्युत महसुल कावासोती वितरण केन्द्रमा बुझाइँदै आएको छ । कार्यालय स्थापनादेखि अन्य पूर्वाधार निर्माणका लागि पर्याप्त जग्गा अभावका कारण गैँडाकोट प्रशाखालाई शाखामा स्तरोन्नती गर्न समस्या परेको रिजालको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखाले आर्थिक वर्ष २०७६÷०७७ मा ३६३ जना ग्राहकको विद्युत लाइन काटेको छ । तीन महिना भन्दा बढी समयको विद्युत महसुल भुक्तानी नगर्ने तथा रु पाँच हजार भन्दा बढी बक्यौता तिर्न बाँकी रहेका ग्राहकको विद्युत लाइन काटिएको कार्यालय प्रमुख रिजालले जानकारी दिनुभयो । विद्युत लाइन काटिएका ग्राहकहरुबाट रु ४७ लाख ६० हजार बराबरको रकम उठाउन बाँकी रहेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७६÷०७७ मा गैँडाकोट प्रशाखाको कार्यक्षेत्र भित्र २० जनाले विद्युत चोरेर प्रयोग गरेकाले उनीहरुलाई कारबाही गरिएको कार्यालयले जनाएको छ । २० जनालाई कारबाही गर्दा रु एक लाख ५० हजार जरिवाना सङ्कलन गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिनुभयो ।