दिउँसो सुत्ने बानी देखि सावधान

दिउसोमा प्राय मान्छे खाना खाएपछि फुर्सद हुने वित्तिकै झुपुक्क निदाउने गर्दछन् । मानसिक र शारीरिक थकान मेट्ने उपाय सुत्नु पनि हो। तर, दिउँसो सुत्ने बानी देखि सावधान हुन जरुरी छ। दिउँसो एक घण्टाभन्दा बढी निदाउने मानिसलाई टाइप–२ डायबिटिज हुनसक्ने जापानी अनुसन्धानकर्ताहरुले बताएका छन् ।

तीन लाखभन्दा बढी मानिसमा गरिएको एउटा अध्ययनका आधारमा विज्ञहरुको यस्तो चेतावनी दिएका छन्। यसअघि बेलायती विज्ञहरुले दीर्धकालीन बिमार र डायबिटिजले मानिसलाई दिउँसो कमजोर महसुस गराउने र सुतौँ–सुतौँ बनाउने बताएका थिए। तर, दिउँसोको सुताइसँग डायबिटिजको सम्बन्धबारे भने उनीहरुले पुष्टि गर्न सकेका थिएनन्।

तर, जपानी टोलीले गरेको पछिल्लो अध्ययन अनुसार दिउँसो नसुत्ने मानिसलाई भन्दा दिउँसो एक घण्टाभन्दा बढी सुत्नेलाई टाइप–२ डायबिटिजको ४५ प्रतिशत बढी खतरा छ। उनीहरुका अनुसार ४० मिनेटभन्दा कम सुत्नेलाई भने यो डायबिटिजको खतरा छैन। राति सुत्न नपाउँदा दिउँसो निद्रा लाग्नु स्वभाविक कुरा हो।

असन्तुलित निद्राले हृदयघात, स्ट्रोक, मुटुजन्य समस्या, मेटाबोलिक डिसअर्डर, टाइप–२ डायबिटिज जस्ता समस्याको खतरा हुन्छ। कामको चाप वा सामाजिक जीवनशैलीका कारण कतिपय मानिसको निद्रा असन्तुलित हुन्छ। निद्रा कमजोर हुँदा भोक बढी लाग्ने र त्यसले टाइप–२ डायबिटिज निम्त्याउने अनुसन्धानकर्ताहरु बताएका छन् ।