भरतपुरमा व्यवसायिक बेमौसमी तरकारी खेती तालीम सुरु

चितवनः चितवनको भरतपुरमा उद्यमशीलता विकास र व्यवसायिक बेमौसमी तरकारी खेती तालीम सुरु भएको छ ।
मंगलबारदेखि सुरु भएको तालीम उद्घाटन गर्दै भरतपुर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्लेले जीवनसँग तालीम जोडिएकाले सक्रिय भएर तालीममा सहभागी हुन आग्रह गरे । जुन उद्देश्य लिएर तालीम सञ्चालन गरिएको छ, त्यसको लक्ष्य प्राप्त नभएसम्म कार्यक्रमको उपलब्धी नहुने भन्दै काफ्लेले तालीममा सहभागी भएकाहरुलाई वडा कार्यालयले सहयोग गर्न तयार रहेको बताए ।
वडा भित्र धेरै जग्गा बाँझो भएकाले तालीममा सहभागीहरुले बाँझो जग्गालाई उपयोगमा ल्याउनुपर्नेमा जोड दिँदै वडाअध्यक्ष काफ्लेले स्थानीय उत्पादनलाई बिक्री वितरणका लागि वडा कार्यालयले समन्वय गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा मेघा स्किल ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिका ओम शर्माले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका छन् । सीपलाई उपयोग गर्नका लागि स्वरोजगार वा रोजगार गर्नुपर्नेमा जोड दिँदै शर्माले तालीम पश्चात सहभागीहरुलाई सीटीईभीटीको तह १ को परीक्षामा सहभागी गराइने बताए । सीटीईभीटीको पाठ्यक्रममा आधारित भएर प्रशिक्षण दिइने भन्दै उनले तालीममा व्यवहारिक ज्ञान बढी दिइने बताए ।
स्थानीय सप्तगण्डकी टोल विकास संस्थाका अध्यक्ष सुन्दरराज रेग्मीले सहभागीहरुको परीक्षा भनेको तालीम पश्चात सुरु हुने बताए । सिकेको ज्ञानलाई व्यवहारमा उतारेको अवस्थामा मात्रै त्यो ज्ञान प्रभावकारी हुने रेग्मीको भनाइ छ । सो तालीममा २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक ज्ञान दिइने तालीमका संयोजक सुदीप भट्टले बताए । तालीममा भरतपुर महानगरपालिका वडा नम्बर ७ र ८ का पाँच जना पुरुषसहित २० जनाको सहभागिता रहेको छ । व्यवसायिक बेमौसमी तरकारी खेतीबारे प्रशिक्षण अघि चार दिनसम्म नारायणी पोलिटेक्निक इन्स्टीच्युट भरतपुरका तिलबहादुर रानाभाटले उद्यमशीलता विकास बारे प्रशिक्षण दिनेछन् ।
उत्पादन भएको तरकारीको बिक्री वितरण तथा सफल किसान कसरी भइन्छ भन्नेबारे रानाभाटले प्रशिक्षण दिने बताइएको छ । करिब ६५ दिन सञ्चालन हुने व्यवसायिक बेमौसमी तरकारी खेतीबारे नेपाल पोलिटेक्निक इन्स्टीच्युटका अङ्कित अधिकारी र करुणा अधिकारीले प्रशिक्षण दिनेछन् । सो प्रशिक्षण युनेस्कोको आर्थिक सहयोगमा मेघा स्किल ट्रेनिङ एण्ड रिसर्च सेन्टर प्रालिको आयोजना तथा चितवन होटल ट्रेनिङ सेन्टरको स्थानीय संयोजनमा सुरु गरिएको हो ।