रुपन्देहीको क्वारेन्टिनमा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाए

रूपन्देहीः रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाएका छन्।

रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन्।

आत्महत्या प्रयास गरेका युवाको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले राति करिब ३ बजेतीर मट्टीतेल खन्याएर आत्महत्या प्रयास गरेको जानकारी पाएपनि आफू बाहिर रहेकोले युवाको अवस्थाबारे बुझ्न अहिले अस्पताल जाँदै गरेको बताए।

देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना महामारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा काम गर्दै आएका थिए।

उनले किन आफ्नै शरीरमा आगो लगाएका हुन् भन्ने खुल्न सकेको छैन।

शरीरको धेरै भाग जलेको र उनी बोल्न सक्ने अवस्थामा नरहेकोले सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताएको छ।