नेपालगञ्ज उपमहानगरपालिका सिल

काठमाडौं : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका सिल गरिएको छ । उपमहानगरभित्रका जनप्रतिनिधि र केही कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय बन्द गरिएको उपमहानगरले जनाएको छ ।

नेपालमा आज ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये उपमहानगरपालिका भित्रको एक वडा अध्यक्ष र कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ।

‘भेरी अस्पतालबाट मिति २०७७/४/१९ गते प्राप्त नतिजा अनुसार यस उपमहानगरपालिकाको कार्यालयमा कार्यरत केही जनप्रतिनिधि तथा कर्मचारीहरूमा पनि कोरोना संक्रमण पुष्टि भएकाले संक्रमणको उच्च जोखिमका कारण अर्को सूचना जारी नभएसम्मको लागि कार्यालय पूर्ण रुपमा सिल गरिएको छ,’ उपमहानगरका प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।