धादिङका प्रचण्ड-नेपाल समुहका नेताको, ठमेल बैठक सम्पन्न

धादिङ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका प्रचण्ड-नेपाल समुहका नेताहरुको गोप्य बैठक शनिबार ठमेलमा सम्पन्न भएको छ । धादिङबाट केन्द्र देखि प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने नेता सम्म उपस्थित रहेको भनिएको उक्त वैठक ठमेलको एक होटलमा सम्पन्न भएको हो ।

धादिङ जिल्ला प्रशासनले विज्ञप्ती निकाले र काठमाडौ जाने पास बन्द गरेको बताए पनि प्रचण्ड-नेपाल समुहको बैठकमा जाने धादिङका नेताहरुलाई सिडियोले पासको बन्दो बस्त गरेका थिए, नेता मोहन कार्की (जिवन्त) रेडक्रसको गाडीमा काठमाडौ गएका थिए । प्रदेश सदस्यहरु मनराज भण्डारी, विजय बुर्लाकोटी र शम्भु श्रेष्ठ भने नीलकण्ठ नगरपालिकाको गाडीमा ठमेल वैठक पुगेका थिए ।

नेकपा धादिङका इन्चार्ज तथा बागमती प्रदेशका मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षता र सचिव विजय बुर्लाकोटीको संचालनमा सम्पन्न उक्त भेलामा नेताहरु राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, पुष्प विक्रम मल्ल, गुरु बुर्लाकोटी,मिनराज कडेल, रामबहादुर भण्डारी, खेम पाठक लगायतका नेताहरु सहभागि रहेका थिए ।

ओली समुहले जिल्लामा एकल गतिविधी गर्ने गरेको, समानान्तर कमिटी बनाउन सुरु गरेकोले प्रचण्ड-नेपाल समुह पनि एकता वद्ध भएर अगाडी बढ्नु पर्ने प्रस्ताव माथि छलफल भएको बैठकमा सहभागी एक सदस्यले धादिङपोष्टलाई बताए ।

बैठकमा, जिल्लागत निर्णय गर्दा होस् या कमिटी बनाउँदा होस्, ओलि समुह सँग मिलेर प्रचण्ड-नेपाल समुहलाई पेल्ने र केन्द्रमा प्रचण्डको गुणगाण गाउने भन्दै शालिकराम जम्कट्टेलको व्यापक ओलोचना भएको वैठकमा सहभागी ति सदस्यले बताए ।

राजेन्द्र, गंगालाल, पुष्प विक्रम जीहरु जिल्ला कति पटक जानु भयो ? कार्यकर्ताहरु अब चाहिएको हो ? भन्ने अनगिन्ती प्रश्नहरु खडाभएपछि बैठक समिक्षा जस्तो भएर सकिएको ति सदस्यले बताए ।