कोरोना संक्रमित छिमेकीको पूजादेखि घडेरी देखाउन गाउँसम्म पुगे

विराटनगर :कोरोना संक्रमितलाई आइसोलेसनमा भर्ना गराउने विषयमा तारतम्य नमिल्दा संक्रमितहरुले भने सास्ती खेप्नु परेको छ । आइतबार राति मोरङको ग्रामथानका एकजना पुरुषले अस्पताल भर्ना हुन निक्कै हैरानी खेप्नु पर्‍यो ।

रिपोर्ट पोजेटिभ आएपछि कोशी कोभिड १९ उपचार केन्द्र लग्नुपर्नेमा उनलाई कोशी अस्पतालको इमर्जेन्सी वार्डमा ल्याएर छाडेपछि करिब ३ घन्टा अलपत्र बने ।

“पुलिस घरमा गएर एम्बुलेन्समा चढ्न भन्दै गए । चालकले एकातिर लग्नुपर्ने अर्को अस्पताल लगेर छाडिदिए । कहाँ जाने के गर्ने निक्कै बिलखबन्दमा परें,” उनले भने, “कोभिड अस्पतालतिर लग्नुपर्ने अर्कैतिर ल्याएर छाडिदिएछन् । पछि फेरि अर्को अस्पतालतिर लगे । अहिले भुइँमा म्याट ओच्छयाएर राखिएको छ ।”

केही दिनदेखि ज्वरो र खोकीको समस्या देखिएपछि उनी कोशी अस्पताल विराटनगरको फिभर क्लिनिकमा जाँच गराउन आएका थिए । चिकित्सकलाई देखाए । चिकित्सकले ज्वरोको औषधि दिए अनि घर पठाइदिए ।

“तर, ज्वरो विसेक भएन सुख्खा खोकी पनि उस्तै रह्यो,” उनले भने, “चित्त बुझेन फेरि कोसी अस्पताल आएँ अनि रु. ५ हजार तिरेर स्वाब दिएँ । रिपोर्ट पोजेटिभ आएछ ।”

आइतबार साँझदेखि करिब ११ बजेसम्म कोशी अस्पतालको इमरजेन्सी वार्ड अगाडिको पेटीमा भोकै प्यासै रहनुपरेको र निकायहरुबीच समन्वय नहुँदा आफूले अनाहकमा दुःख पाएको उनले बताए ।

संक्रमित पुरुषमा स्थानीय रुपमै संक्रमण भएको देखिएको छ ।

उनको ट्राभल हिस्ट्री छैन । उनमा संक्रमण देखिएको विषयमा ग्रामथान गाउँपालिकाका पदाधिकारीसमेत साँझसम्म बेखबर थिए ।

संक्रमित पुरुषले आफू संक्रमणको लक्षण आउनुपूर्व गाउँकै क्लिनिकमा औषधि खरिद गर्न गएको र सञ्चालककी छोरीमा संक्रमण देखिएको पुष्टि भएकोले उनैबाट आफूमा सरेको हुन सक्ने बताए ।

क्लिनिकका सञ्चालककी छोरी विराट अस्पताल (विराट नर्सिङ होम) मा कार्यरत हुन् ।

ती नर्समा अस्पतालका वरिष्ठ चिकित्सकसँगै कोरोना संक्रमण पुष्टि भएको थियो । उनी आइसोलेसनमा छन् । वरिष्ठ चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको काठमाडौंमा उपचार भइरहेको छ ।

ग्रामथानमा पुरुषमा संक्रमण देखिएपछि गाउँमा त्रासको वातावरण देखिएको छ ।

ग्रामथान १ झोराहाट बजार बिहानैदेखि सुनसान छ । समुदाय स्तरमा कोरोना पुगेको आशंकामा मानिसहरुको चहलपहल र आउजाउ छैन ।

स्थानीय समाजसेवी टिका खतिवडा भन्छन्,“गाउँमा कसरी संक्रमण आयो भन्नेमा हामी पनि चिन्ताग्रस्त छौं । संक्रमणको स्रोत पहिचान गर्ने र कन्ट्याक्ट ट्रेसिङ गरी स्थानीयको स्वाब संकलन तथा परीक्षण गर्न प्रदेश सरकारसमक्ष माग गरिरहेका छौं ।”

उनले सावधानी र सतर्कता अपनाउन अब हेलचेक्र्याईं गर्न नहुने बताए । ग्रामथान विराटनगर सीमाको पालिका हो ।

गाउँमा केही दिनअघि भएको छिमेकीको पूजामा समेत पुरुष सहभागी थिए । त्यहाँ अरु धेरै मानिसहरु पनि थिए । यसबाहेक जग्गाको कारोबार गर्ने भएकोले अर्का एक साथीसँग उनी मोटरसाइकलमा चढेर घडेरी देखाउन टोलटोल पुगेका थिए ।

संक्रमित पुरुष भन्छन्,“परीक्षणको दायरा बढाएर संक्रमण भए नभएकाहरु पत्ता लगाउनु पर्ने देखिएको छ ।”

प्रदेश १ का आईसोलेसन केन्द्रहरुमा अहिले बिरामीको चाप बढेसँगै भरिएका छन् । कोशी कोभिड १९ उपचार केन्द्र, गोठगाउँ र धरानमा पनि बिरामीको चाप बढ्न थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिष्द कार्यालयका अनुसार आइतबारसम्म प्रदेश १ मा १०७१ जनामा कोरोना संक्रमति फेला परेका छन् । ८२१ ज्ना डिस्चार्ज भएका छन् ।

.