पहिरोका कारण मुलुकका अधिकांश राजमार्गहरु क्षतिग्रस्त

काठमाडौं: लगातारको वर्षाका कारण आएको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथलगायतका मुख्य सडकहरु क्षतिग्रस्त भएका छन् ।

यसपालि नागढुङ्गादेखि मुग्लिनसम्म अत्यधिक पहिरो गएको छ । राजमार्गको भित्ता पहिराले छियाछिया पारेको छ । सयौँ ठाउँमा पहिरो गएको छ ।

धादिङको जवाङ खोला नजिक त्रिशुली नदीको कटानले झण्डै १० मिटर जति सडक बगेको छ । त्यहाँ अहिले एकतर्फी मात्रै सडक सञ्चालनमा छ ।

त्यसको नजिकै घुमाउनेमा पनि तल्लो तहबाट नदीले कटान गरिरहेको छ भने माथिल्लो क्षेत्रबाट आएको भेलले सडकमा ठूलो क्षति गरेको छ ।

चितवनको कुरिनटारस्थित केवुलकारको तल्लो स्टेशन नजिक ठूलो पहिरो खसेकाले सडक जोखिमपूर्ण बनेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसवर्ष औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाको बेलामा समेत लामो यात्रा नगर्न सुझाव दिनुभएको छ ।

प्राधिकरणका अनुसार नेपालमा मनसुन सक्रिय भएपछि डेढ महिनाको अवधिमा मुलुकभर पहिरोले मात्रै १ सय ६३ जनाको ज्यान गइसकेको छ । ४५ जना अझै हराइरहेका छन् ।