कोरोना संक्रमण भयावह बन्दै

धनगढी :  सुदूरपश्चिम प्रदेशमा पुनःकोरोना संक्रमण भयावह बन्दै गएको छ ।शनिबार र आइतबार सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी दुई सय ४२ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको संघीय स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ८८, धुलिखेल अस्पतालबाट २७ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा ७९ गरी एक सय ९४ जनामा तथा आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म संक्रमण पुष्टि भएका चार हजार सात सय ४२ जनामध्ये तीनहजार १० जना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हाल एक हजार छ सय७५ जना विभिन्न आइसोलशनमा उपचार गराइरहेका छन् । कोरोना संक्रमणबाट हालसम्म सुदूरपश्चिम प्रदेशमा नौं जनाको मृत्यु भइसकेको छ ।

भारतबाट आएर होमक्वारेन्टाइनमा बसेका व्यक्तिहरूमा कोरोना संक्रमण देखिन थालेपछि समुदायमा फैलिने चिन्ता बढेको छ । सेती प्रादेशिक अस्पतालमा शुक्रबार कोरोना पुष्टि भएका धनगढीका १६ जना सबै होम क्वारेन्टाइनमा बसेका थिए । उनीहरूले होम क्वारेन्टाइनमा बस्दा अपनाउनु पर्ने सावधानी नअपनाएर परिवार र समुदायमा घुलमिल भइसकेको स्थानीयहरूले बताएका छन् ।

सरकारले भारतसहितका देशहरूबाट आएका व्यक्तिहरूलाई होम क्वारेन्टाइनमा राख्न र होम क्वारेन्टाइनमा रहेको दश दिनपछि आरडीटी परिक्षणमा पोजिटिभ देखिएमा पीसीआर बिधिबाट कोरोनाको परीक्षण गर्न भनेको छ । परिवार र समुदायमा घुलमिल भैसकेपछि कोरोनाको परीक्षण गरिने भएकोले समुदायस्तरमा कोरोना फैलिने खतरा बढेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।