व्यवहारिक ज्ञानलाई जोड दिँदै अङ्कुरम एकेडेमी सञ्चालनमा

चितवनः बोस्टन इन्टरनेशनल कलेजको व्यवस्थापनले भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थीत तेह्रसाल चोकमा अत्याधुनिक सुविधा सहितको विद्यालय सञ्चालनमा ल्याएको छ ।
अङ्कुरम् एकेडेमी नाम दिइएको सो विद्यालयले कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुलाई सैद्धान्तिक सँगै व्यवहारिक ज्ञान समेत प्रदान गर्ने उद्देश्य लिएको आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका अध्यक्ष आनन्द बहादुर चन्दले शैक्षिक हबको रूपमा विकास भइरहेको चितवनको भरतपुर क्षेत्रमा नयाँ सोच र शैलीमा विद्यालय सञ्चालन गरिएको बताए । चितवनको शैक्षिक स्तरलाई विश्वव्यापीरूपमा चिनाउन बालबालिकालाई अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यालय सञ्चालनमा गरेको उनको भनाइ छ ।
कक्षा १ देखि ५ सम्म २४/२४ जना, कक्षा ६ देखि १० सम्मका कक्षामा ३०/३० जना तथा कक्षा ११ र १२ मा ४०/४० जना विद्यार्थी राखेर पढाइ सञ्चालन गर्ने अध्यक्ष चन्दले बताए । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई गृहकार्यबाहेकका कुनै पनि पाठ्यपुस्तक घर लैजान नपर्ने गरी शिक्षा प्रदान गर्ने लक्ष्यसहित विद्यालय सञ्चालनमा ल्याइएको अध्यक्ष चन्दले बताए । अंग्रेजी विषयमा बढी जोड दिने गरी अध्यापन गराउने योजनासहित सञ्चालनमा आएको विद्यालयमा नेपालसहित अन्य मुलुकका विषयविज्ञहरूमार्फत पठनपाठन गराउने उनले बताए । चन्दका अनुसार विद्यालयको छात्रवृत्ति तथा अन्य सुविधामा भने सरकारको मापदण्डलाई आधार मानेर सञ्चालन गरिनेछ ।
विद्यालय बिहान ८ देखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने विद्यालयका प्रिन्सिपल सुमन पौडेलले जानकारी दिए । विद्यालयले हाल अनलाइन मार्फत कक्षा सञ्चालन गरिरहेको भन्दै अवस्था सामान्य भएपछि विद्यार्थीलाई भौतिक रुपमा विद्यालयमा नै उपस्थित गराएर कक्षा सञ्चालन गरिने पौडेलले बताए । विद्यालय परिसरभित्र सुविधासम्पन्न पुस्तकालय, कम्प्युटर ल्याब, स्वीमिङ पुल, खेल मैदानलगायतका सुविधाहरु रहेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।