एकैदिन ३ जनाको मृत्यु भएसँगै वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण

वीरगन्ज: कोरोना संक्रमणका कारण वीरगन्जमा बिहीबार राति तीन जनाको  मृत्यु भएको छ । दुई जनाको वीरगन्जको कोभिड अस्पताल गण्डकमा र एक जनाको वीरगन्ज–२ छपकैया स्थित आफ्नै घरमा मृत्यु भएको हो । थप एक महिलाको पनि मृत्यु भइसकेको छ । तर, उनको स्वास्थ्य परीक्षण रिपोर्ट आई नसकेको नारायणी अस्पतालले जनाएको छ ।

मृत्यु हुनेहरूमा वीरगन्ज–१६ नगवाका ३५ वर्षीय र वीरगन्ज–२ छपकैयाका ६५ वर्षीय पुरुष छन् । यस्तै, जगदम्बा इन्टरप्राइजेजका सिइओको पनि कोरोनाका कारण मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनी भारतीय नागरिक हुन् । योसहित पर्सामा साउनमा मात्र मृत्यु हुनेको संख्या ८ पुगेको छ । मुलुकभरि भने योसहित कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगन्जको गण्डकमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटलमा कोरोना संक्रमितको उपचार गर्ने हस्पिटल बनाउने प्रक्रिया अगाडि बढेको छ । वीरगन्ज क्षेत्रमा कोरोनाका संक्रमितको संख्या ह्वात्तै बढेर मृत्यु हुने क्रम बढेपछि हस्पिटलका सञ्चालकले कोरोनाका बिरामीको उपचार गर्न दिने संकेत गरेका छन् ।

यो संकतले गण्डकमा रहेको गण्डक अस्पताल पछि गण्डकमा नै रहेको अर्को वीरगन्ज हेल्थ केयर अस्पताल कोभिड विशेष अस्पताल बन्ने बाटो खुलेको हो ।