भन्सारका कर्मचारीको मिलेमतोमा चिनीमा २६ करोड भन्सार छली

काठमाडौं :  भन्सार कर्मचारीको मिलेमतोमा व्यापारीले साढे २६ करोड रुपैयाँभन्दा बढी भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको छ ।

व्यापारीले गत असार मसान्तदेखि १४ साउनसम्म २६ करोड ६३ लाख २० हजार रुपैयाँ भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको हो । त्यस क्रममा व्यापारीहरूले १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेका छन् ।

स्रोतका अनुसार गत असार मसान्तदेखि १४ साउनसम्म व्यापारीले भारतको उत्तर प्रदेशबाट १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याएका थिए, जसमध्ये ४८ हजार मेट्रिक टनको मात्रै भन्सार महसुल तिरेको पाइएको छ । बाँकी १ लाख २ हजार मेट्रिक टन चिनीको भन्सार तिरेको देखिएको छैन ।

यसरी १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेको पाइएपछि राष्ट्रिय उपभोक्ता मञ्चले छानबिन तथा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएको छ ।

मञ्चले दिएको उजुरीमा १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याउँदा ४८ हजार मेट्रिक टनको मात्र भन्सार महसुल तिरेको पाइएकोे छ । व्यापारीले भन्सारका कर्मचारीसँगको मिलेमतोमा करोडौंको भन्सार छली गरेको उपभोक्ता मञ्चको दाबी छ । सरकारले बाहिरबाट आयात हुने चिनीको प्रतिमेट्रिक टन भन्सार महसुल ५० प्रतिशतभन्दा कम नहुने गरी लिने गरेको छ ।

तर, व्यापारीहरूले भन्सार छली गर्दै अवैध रूपमा भन्सार नाकाबाट चिनी ल्याउने गरेका छन् । हाल प्रतिमेट्रिक टनको मूल्य ४३६ अमेरीकी डरले पर्न जान्छ । हाल अमेरिकी डलर १ रुपैयाँ बराबर नेपाली १ सय २० रुपैयाँ हुन्छ । सो मूल्य नेपाली रुपैयाँमा हिसाब गर्दा प्रतिमेट्रिक टन चिनीको मूल्य २५ हजार ३ सय २० रुपैयाँ पर्न जान्छ ।

१ लाख २ हजार मेट्रिक टन चिनीको मूल्यसँग हिसाब गर्दा ५ अर्ब ३३ करोड ६६ लाख ४० हजार हुन जान्छ । सो चिनीको मूल्यलाई ५० प्रतिशतका दरले हिसाब गर्दा २६ करोड ६३ लाख २० हजार भन्सार महसुल लिनुपर्ने हुन्छ । तर, त्यसरी सो रकम लिएको नदेखिँदा चिनी आयातमा ठूलै चलखेल भएको हुन सक्ने आशंका गरिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।