घृणा सहन नसकेर कोरोना जितेका युवकले गरे आत्महत्या

जनकपुरधाम :समाज र आफ्नै घरपरिवारले पनि घृणा गरेपछि कोरोना भाइरसलाई जितेका धनुषाका एक युवकले आत्महत्या गरेका छन्।

उनी हुन्– मिथिला विहारी नगरपालिका-२ का ३५ वर्षीय विशेश्वर यादव। शुक्रबार उनी घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनको पछाडि आँपको रूखमा झुण्डिएर आत्मत्या गरे। ९ दिन अगाडि उनी नगराइन नगरपालिकास्थित गंगुली आइसोलेसनबाट घर फर्केका थिए।

तर, घरमा बस्न नदिएको र समाजले घृणा गरेपछि आत्महत्या गर्न बाध्य बनेको स्थानीय एक युवकले बताए। मृतक यादव भारतको राजधानी नयाँदिल्लीमा लामो समयदेखि मजदुरको रुपमा काम गर्थे। हल्दीराम भुजिया कम्पनीमा काम गर्ने उनको साथीको कोरोनाले मृत्यु भयो। त्यसपछि डराएका उनी गाडी रिजर्भ गरेर घर हिँडे।

महोत्तरीको भिट्ठामोड नाका आएर उनी अलपत्र परेका थिए। करिब १० दिनपछि उनी नेपाल प्रवेश गरे। असार १५ मा नेपाल प्रवेश गरेलगत्तै उनलाई प्रहरीले गाउँ ल्याएर उच्च माध्यमिक विद्यालय पशुराम तलाउको क्वारेन्टाइनमा राखिदियो। क्वारेन्टाइनमा पिसिआर परीक्षण गर्दा असार ३० मा उनको रिपोर्ट पोजेटिभ आयो।

क्वारेन्टाइनका संयोजक बलराम मण्डल भन्छन्, ‘उनको अवस्था नर्मल थियो। कोरोनाको कुनै लक्षण देखा परेको थिएन। तर, रिपोर्ट पोजेटिभ आएलगत्तै उनलाई गंगुली आइसोलेसनमा रेफर गर्यौं।’ आइसोलेसनमा उनी १४ दिन बिताए।

त्यसपछि उनलाई आइसोलेसनबाट डिस्चार्ज गरी घर पठाइयो। डिस्चार्ज भएपछि उनी खुःसीले गदगद थिए तर, घर पुगेपछि उनको खुःसी हरायो। किनकि परिवारसँग बस्न पाउने र छोरा–छोरीसँग रमाउन पाएनन्।

घर पुगेपछि उनलाई बाहिरको एउटा कोठामा बस्न भनेको उनकै भतिजा राजीव यादबले बताए। तर परिवार र समाजले घृणा गर्दा उनले आत्महत्या गरेको कुरामा सत्यता नरहेको दाबी गर्छन्। मृतकका श्रीमती, दुई छोरा र दुई छोरी छन्। सबैभन्दा जेठी छोरी ८ वर्षकी छन्। उनी आत्महत्या गरेपछि छोरा–छोरी विचल्लीमा परेको स्थानीय राजेन्द्र यादवले बताए। उनका अनुसार सामान्य आर्थिक अवस्था रहेको उनका छोरा–छोरीलाई पढ्न लेख्‍न र खानपानमा समेत समस्या हुनेछ।

प्रशासले गरे शव व्यवस्थापन

झुण्डिएको अवस्थामा उनी फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गर्‍यो। प्रहरी पिपिई लगाएर उनको शव जनकपुर ल्याए। केहीबेरमै पुनः गाउँमै शव लगियो। तर, शव उनको परिवारलाई बुझाएन।

हतारहतार पशुराम तलाउमा व्यवस्थापन गरियो। प्रशासनले कसैलाई दाहसंस्कारमा सहभागी पनि हुन दिएन। कोरोना लागेर मृत्यु भएपछि जुन प्रक्रिया अपनाएर शव व्यवस्थापन गर्छ। सोही प्रक्रियाअनुसार उनको शव पशुराम तलाउमा व्यवस्थापन प्रशासनले गरेको स्थानीयले जनाएको छ।

यसअघि त्यही पशुराम तलाउमा कोरोना लागेर मृत्यु भएका शहिदनगर नगरपालिका ८ का श्रवण साहको शव व्यवस्थापन गरेको थियो।

दोषी को?

आत्महत्या गरेका समय उनी कोरोना संक्रमित थिए वा थिएनन् भन्ने विषयमा प्रशासनसमेत अन्योलमा छ। प्रहरीले घटनाको छानबिनसमेत गर्न चाहेका छैन।

धनुषाका एसपी रमेश बस्नेतले उनी आत्महत्या किन गरेको विषयमा थाहा नभएको बताए। उनले आइसोलेसनबाट डिस्चार्ज भएर घर आएको १०/१५ दिनपछि उनी आत्महत्या गरेको उनले दाबी गरे। समाज र परिवारले अवहेलना गर्दा आत्महत्या गरेको हो? भन्ने जिज्ञासामा उनले भने, ‘त्यो कुरा मलाई थाहा भएन।’ अधिकारकर्मी राज रजक भन्छन्, ‘आफ्नै परिवारले उनलाई घरमा पस्न दिएन। बाहिरै बस्न भन्यो।

समाजका मानिसहरु उनी देखेर टाढैबाट भाग्न थाले। परिवारले खाना पनि पातमा दिने गर्थे। श्रीमती र छोरा–छोरीलाई समेत उनीबाट टाढा राख्यो। बाध्य भएर उनी आत्महत्या रोज्यो।’ ‘यो घटनालाई आत्महत्या भन्दिनँ, हत्या हो’, उनी थप्छन्, ‘जनकपुर आइसोलेसन र नगरप्रमुखको लापरबाहीका कारण भएको घटना हो।’ घटनामा परिवारको पनि हाथ छ र समाज पनि जिम्मेवार छ– उनको भनाइ छ। thahakhabar