बाघ, तिम्रा लागि मैले प्रधानमन्त्री पुकारेको छु !

सहायक रथी बाबुकृष्ण कार्की(अप्रा)

प्रीय बाघ,
कोटी कोटी नमस्कार।

२२ वर्ष अगाडिको सम्पर्क, सम्बन्ध र सेवा अवसरलाई मैले अहोभाग्य मानेको छु। त्यसबेलादेखि तिमीलाई मैले मनमुटुमा सजाएर राखेको छु। तिम्रो रक्षा सेवा कल्याणमा के कति कति योगदान र त्याग गरें त्यो मेरो कर्म र धर्म थियो। कति गर्न सकिन त्यसको चिन्ता फलामको खिल शूल बनेर मुटुमा बिजिरहेको छ।

अझै कति गर्न सक्छु विभिन्न विकल्प र निकासको खोजिमा भौंतारिरहेको छु। किनभने, सेवा र रक्षाभाव आकासिएर गएको छ। आफूलाई तिम्रो रक्षा सेवामा समर्पित गर्न चाहन्छु।

भित्री कारण

हामी मानवको वृद्धिदर व्यापक तीव्र छ। तर, तिम्रो वृद्धिदर ज्यादै न्यून र दुर्लभ छ। संसर्ग र सम्भोग कठिन। भालेहरुको वारपार युद्ध। पराजित भालेको भयानक क्षति र कहिलेकाँही मृत्यु। गर्भाधारण कठिन। तुहिने सम्भावना उस्तै। ४/४ महिनाको गर्भधारण। २/४ अन्धा डमरुको दुर्लभ जन्म। पिता डरलाग्दो दुश्मन।

आफ्नै सन्तान खोजी खोजी शिरछेदन गरेर मार्न उद्यत। १८ महिना बाउसँग बच्चा लुकाउदाको हैरान। कहिले आमाको भिडन्तमा मृत्यु। जलवायु परिवर्तन र प्राकृतिक बिपदको प्रत्यक्ष र महाप्रतिकूल असर। बाढी डुबानबाट आमालाई जोगिन र बच्चा जोगाउन मुस्किल।

चितुवा, ब्वाँसो, स्यालबाट डमरु जोगाउन धौ धौ। जन्मेका डमरु सुरक्षितसाथ हुर्कने सम्भावना २५ प्रतिशत । नेपालमा हामी ३ करोड, तिमी २ सय पैँतिस। विश्वमा हामी सवा ७ अरब, तिमीहरु ३५ सय। लोप हुने विज्ञहरुको भविष्यवाणी। लोप विन्दु र समय धेरै नजिक र छिटो। यता विज्ञमाथि अनविज्ञको शासन। प्रकृति विरोधी पुङ्न पुच्छरको विकासे नीति।

बाघ माग
मैंले बुझेको छु पवित्र पूण्य र धार्मिक भूमिमा अन्तिम सास त्याग गर्ने तिम्रो (बाघको) गहिरो चाहना छ। नेपालको प्राकृतिक सौन्दर्यता औधी राम्रो, अनुकूल र बाघमैत्री भएकोले अन्तिम बाघको देह त्याग यही होस् भन्ने पुकार पनि।

वैज्ञानिक वन व्यवस्थापनले बाघको जैविक मार्ग लगायत समग्र प्रकृति विनास गर्ने छ र मुलुक अतिवृष्टि, खण्डवृष्टि, बाढी डुबान, भिर– पहिरो जस्ता प्राकृतिक विपद्को शिकार हुने छ। काग कराउने पिना सुक्ने काम भइरह्यो। मेरो माग र सुझाव रद्दीको टोकरीमा फ्यांकियो। प्रकृतिमाथिको चौतर्फी आक्रमणले तिव्रता पायो। बाघमाथिको अन्याय अत्याचार र आक्रमणले मेरो छटपटी तीव्र बढ्यो।

मानिसले धेरै फलाकेको तर पटक्कै दिन नसकेको सम्वृद्धि दिन बाघको पहलता र दृढ संकल्प। शान्त र सुरक्षित बास पाए दोब्बर (२५०) होइन तेब्बर (३७५) बनाउने तीव्र इच्छा।

गोठालोको चाहना

बाघको माग बिलकूल जायज र सुन्दर छ। सम्वृद्धि दिने संकल्पभित्र दायित्वबोध र गुण लगाउने इच्छा निश्चित छ। मानवलाई जति भए पनि नपुग्ने दरिद्र विचारले निचोरेको छ। हामी बाघको बाँकी सानो वासस्थानसमेत मिच्न हडप्न उद्यत छौं।

आफ्नो दशौं बिगाहा जमिन बाँझो छाडेर सरकारी वन, खोरिया र बाघको बास कब्जा गर्ने हाम्रो नियत् दरिद्रताको पराकाष्ठा हो। वन नभए कसरी बाघ? बाघ नभए कसरी जैविक विविधताको सन्तुलित संरक्षण? संरक्षण नभए कसरी विपद् नियन्त्रण? त्यसैले बाघको संरक्षण अपरिहार्य छ।

२ पटक न्वारान २ वटा नाम
प्रिय बाघ,
लकडाउनको अन्त्य, २२ वर्ष अगाडि अब्राहम कन्जरभेसन अवार्ड पाउने। तिम्रो सेवक शिवदल गणको ड्राई वार्षिकोत्सवको अवसर र विश्व बाघ दिवसको अपूर्व अवसर पारेर मेरा माता पिताले दोहोर्याएर आज मेरो न्वारान गरी ‘बाघ गोठालो’ नाम राखिदिएका छन्। नयाँ नामलाई मैले स्वस्फूर्तरुपमा गर्वसाथ स्वीकार गरेर अपनाएको छु। नयाँ टाइटलमा दम र दायित्व छ। संरक्षणको तीव्र चाहना लुकेको छ।

प्रिय बाघ,
नाम र कामको तालमेल मिलाउनु मेरो कर्तव्य हो। तिम्रो माग मनन र आत्मसात् गरेर तिम्रा ५ वटै वास (पर्सा, चितवन, बाँके, बर्दिया र शुक्ला) मा भोलेण्टियर दौडधुप गरें।

तिम्रा समस्या र सुझावलाई नोट गरें। लकडाउनभरि डिजिटल मिटिङ, फोन सम्पर्क र फोन अनुगमन गरें। तिमी पासोमा पर्दा, विषादीको फेला पर्दा र चोरी शिकारीको गोलीको निशाना हुँदा धुरु धुरु रोएँ। तिम्रो लिला तुरुन्त समाप्त भयो र छाला काढियो। तर बाघ गोठालो झन् चिच्याई चिच्याई रोएँ र कराएँ– “गुहार गुहा !, बचाउ बचाउ!!”

काम काम, शून्य परिणाम

राजनीतिक नेतृत्व (वनमन्त्री)लाई हजार कोणबाट हजारपल्ट पुकारें–
बाघको रगतको नासो राष्ट्रिय प्रकृति संरक्षण कोषको घाँटी ननिमोठ। त्यो कोषको प्राण लिनु भनेको बाघ मार्नु हो। बाघ समाप्त हुनु भनेको जैविक विविधताको माला र समग्र प्रकृति विनास हुनु हो। हामी त्यही जैविक विविधताको एउटा सानो अंग हौ। प्रकृति समाप्त हुने र मानवमात्र एक्लै बाँच्ने कुरा अस्वभाविक, अन्याय, असामान्य र असम्भव हुन्छ।

राष्ट्रिय निकुञ्ज विभागलाई नेतृत्वविहिन राखेर पंगु नबनाउँ। नेतृत्व चयन गरेर विभागलाई सक्रिय र प्रभावकारी बनाउँदा मात्र बाघको हेरचाह, गणना, अनुगमन, रक्षा, समन्वय सबै बढ्दछ। निजगढ विमानस्थलको विभिन्न सुन्दर विकल्पहरुको अध्ययन, मूल्यांकन गरौं र बाघको सीमित घर मासिने गरी पुरानो जंगल काट्ने प्रपञ्चलाई थोरै परिवर्तन गरौं।

वैज्ञानिक वन व्यवस्थापनले बाघको जैविक मार्ग लगायत समग्र प्रकृति विनास गर्ने छ र मुलुक अतिवृष्टि, खण्डवृष्टि, बाढी डुबान, भिर– पहिरो जस्ता प्राकृतिक विपद्को शिकार हुने छ। काग कराउने पिना सुक्ने काम भइरह्यो। मेरो माग र सुझाव रद्दीको टोकरीमा फ्यांकियो। प्रकृतिमाथिको चौतर्फी आक्रमणले तिव्रता पायो। बाघमाथिको अन्याय अत्याचार र आक्रमणले मेरो छटपटी तीव्र बढ्यो।

न्यायालयको ढोकामा
हामी मानवका कति धेरै न्यायालय? हामी बोल्ने, बाद–प्रतिबाद गर्ने, नजिते पुनरावेदन जाने र जितेर छाड्ने। बाघ, तिमी भने नबोल्ने, नबाज्ने, सहने–खप्ने, स्वाभिमान स्वभाव जाहेर गरिरहने। तिम्रा पनि धेरै न्यायालय तर कागज र सिद्धान्तमा। स्वार्थी र दरिद्र हामीजस्ता मानिसले बनाएका ती न्यायालयमा तिम्रो पक्षबाट वकालत र बचाउ गर्ने स्वाभिमान र साहसिक मानवको अनिकाल।

तिमी बाघ गोठालोको सपनामा आयौ। न्यायलय देखाइदियौ। म त्यही दिन (६ असार) दौडिएर तिम्रो अन्तिम न्यायालय बालुवाटार पुगें। तिम्रो राष्ट्रिय बाघ संरक्षण समितिको अध्यक्षलाई भेटें।

फिल्डमा तिमीले भोगेको हेपाइ, पेलाइ, पीडा र दर्द सुनाइदिएँ। अध्यक्ष (प्रधानमन्त्री) भावुक हुनुभयो। सम्वेदनशील भएर तिमीलाई न्याय दिने आश्वासन दिनुभएको छ। म खुशी र अनुग्रहित भएर घर फर्किएँ।

५ वटा तिम्रा घर–पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा। सबै घरमा तिमीलाई नेपाली सेनाको सुरक्षा। आहा कति भाग्यमानी तिमी! संसारमा कही नभएको दरो र खरो रक्षा प्रबन्ध। तिम्रो विशेष सम्मान। ठानें, जंगी अड्डा मेरो, तिम्रो, तिम्रो गार्डहरु सबैको साझा हेड्क्वार्टर। तिम्रो अध्यक्षको कार्यव्यस्तता। तिम्रो कार्यकारी मुख्यालय निकुञ्ज विभाग महिनौदेखि नेतृत्वविहीन।

मैले तिम्रो र मेरो मातृ संगठन प्रमुख (प्रधानसेनापति)लाई असार ६ र ८ गते लगातार भेटेर बाघ संरक्षणको स्वामित्व ग्रहण गरिदिन, जवाफदेहिता बढाइदिन र बाघ दोब्बरको राष्ट्रिय संकल्प सफल र साकार पारिदिन जोडदार पुकार गरें। उहाँले यो पवित्र कामलाई हार्दिकतासाथ ग्रहण गरिदिनुभयो। स्वभावतः उहाँले सदासयता देखाउनुभयो।

मैले पद, पैसा र सुविधा बिनाको स्वयंसेवी काममात्र गर्न आफ्नो स्वस्फूर्त तत्परता र अग्रसरता रहेको कुरा पुनः दोहो¥याएर उहाँहरुलाई हलुका बनाइदिएँ।
‘नमाग्नु’ भन्ने तिम्रो स्वाभिमानको पाठले मलाइ अग्राख जस्तो बलियो बनाएको छ।

नेतृत्वविहीन भए पनि हिङ्ग बाँधेको टालो तिम्रो विभागलाई निरन्तर आडिलो काँध थापेर भरथेग् गरिरहेको छु। फिल्डस्थित निकुञ्ज प्रशासन कार्यालय र प्रोटेक्शन युनिटहरुसँग नियमित सम्पर्क र समन्वयमा छु। केन्द्रदेखि स्थानीयसम्म ‘वाईल्डलाईफ क्राईम कन्ट्रोल ब्युरो’को सक्रियताको लागि सम्बन्धितहरुलाई पुकार गरेको छुु।

आ– आफ्नो कर्तव्य
मैले मेरो कर्तव्य पूरा गर्दै जाने छु। इमान्दार गोठालोको कर्तव्य। अब छिटो घाँसे मैदान व्यवस्थापन गरेर तिम्रो आहारा बढाउने काम हुनेछ। शुद्ध सफा पानीको व्यवस्था हुनेछ। शान्ति सुरक्षाको प्रत्याभूति हुनेछ। स्थानीय समुदायको असीम साथ र सहयोग प्राप्त हुनेछ। तिम्रो चोरी शिकार पूर्ण रुपमा बन्द हुनेछ। अवैध अंग व्यापारको नशा काटिनेछ।

तसर्थ, कृपया धैर्यधारण गरिदेउ । राजमार्गमा ननिस्किदेउ। त्यो असुरक्षित छ। डडेलधुराजस्तो टाढा पहाड नचढिदेउ। निकुञ्ज बाहिर सामुदायिक वन वन जाने तिम्रो अधिकार। तर, ज्ञानी र सतर्क भएर जानु, अनि छिटै निकुञ्ज फिर्ता हुनु। कृपया तिम्रा मालिकहरु (मान्छे) माथि आक्रमण नगर्नु।घरपाल्तु चौपाया खाने तिम्रो जातै होइन।

सीमा पारि भारत जाने तिम्रो अधिकार। तर घर फिर्ता आउन नभुल्नु। हामी हाम्रो कर्तव्य पूरा गर्नेछौं। आज्ञाकारी गोठालोको प्रार्थना सुनेर कृपया तिमी र तिम्रा सन्तान आफ्नो कर्तव्यप्रति हमेशा चंख र चनाखो रहनु।

प्रिय बाघ,
तेह्र देशका सबै बाघहरुलाई ‘विश्व बाघ संरक्षण दिवस’ को पावन अवसरमा हार्दिक शुभकामना चढाउँदछु। सबै देशमा शान्ति सुरक्षा छावस्। छिटो सम्वृद्धि आवस्। सम्वृद्धिले तिम्रो रक्षा सुनिश्चित गरोस्। सबै देशमा तिम्रो संख्या दोब्बर होस् सन् २०२२ सम्ममा। सबै देशले सफलता र विजयको भव्य उत्सव मनाउन्।

त्यो विश्व उत्सवको भव्य समारोह प्रकृति संरक्षणको विश्व रेकर्ड राखेको सुन्दर शान्त मुलुक नेपालले आयोजना गरोस्। गत वर्ष ‘विश्व रेञ्जर सम्मेलन’ आयोजना गरेजस्तै नेपालले बाघ दोब्बर होइन साढे दोब्बर गरेर यो उत्सव यही पूण्य भूमि (चितवन) मा आयोजना गर्नु श्रेयश्कर हुने छ। अनि, सहभागी सबै राष्ट्र प्रमुखहरुले सोही अवसरमा बाघ तेब्बर गर्ने घोषणा गरेर प्रकृति संरक्षणको अभियानमा अर्को एउटा ईंटा थप्ने पहलकदमी लिनुहुने छ।

जय बाघ ।
जय जय प्रकृति ।
उही तिम्रो
– बाघ गोठालो