नेपालमा आजवाट विश्व स्तनपान सप्ताह मनाईंदै

काठमाडौं :‘आज शनिवारदेखि २३ गतेसम्म नेपालले विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाउने भएको छ।

परिवार कल्याण महाशाखाले हिजो पत्रकार सम्मेलन गरी नेपालमा ६६ प्रतिशत महिलाले मात्र पूर्ण स्तनपान गराउने गरेको भन्दै यो संख्या वर्षेनी घट्दै गएको पनि जानकारी दिएको छ ।

कार्यक्रममा परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख केदारराज पराजुलीले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत रहेको र २ वर्षसम्म स्तनपान गराउनेको संख्या ८९ प्रतिशत रहेको जानकारी दिनुभयो ।

यस्तै स्तनपान गराउने मध्ये ८० प्रतिशत महिलाले १ वर्षसम्म स्तनपान गराउने गरेको पाइएको कार्यक्रममा जानकारी दिइयो ।

एक प्रतिशत महिलाले भने कहिल्यै स्तनपान नगराउने गरेको पाइएको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले सन् २०१७ मा गरेको अध्ययनमा ६ महिनादेखि २ वर्ष सम्मका ८७ प्रतिशत बालबालिकाले जंक फुडको प्रयोग गर्ने गरेको देखाएको थियो ।

अध्ययनले बढीजसो शल्यक्रिया गरेर जन्मिएका बालबालिकालाई फर्मुला दूध खुवाउने गरेको देखाएको छ ।