बादल टिमको निष्कर्ष : ‘केपी ओली प्रतिगामी हुन्’

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समूहको भेलाले प्रधानमन्त्री केपी ओली र उनको समूह प्रतिगामी भएको निष्कर्ष निकालेको छ। थापा समूहका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको भेलाले ओली समूह प्रतिगामी भएको निष्कर्ष निकालेको हो।

नेकपाभित्रको विवाद चर्किंदै जाँदा गृहमन्त्री थापाले पार्टी विवाद कसरी समाधान गर्ने ? भन्ने विषयमा केन्द्रित रहेर आफूनिकट नेताहरुसँग परामर्श गरेका थिए। बैठकमा स्थायी समिति सदस्य देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य लगायतका बहुमत नेताहरुले केपी ओली र उनको समूहमा प्रतिगामी सोंच हावी रहेको बताएका थिए।

नेताहरुले पूर्वमाओवादी समूहलाई कमजोर बनाएर जनयुद्धको औचित्य समाप्त पार्ने खेल भइरहेकोतर्फ गृहमन्त्री थापालाई सचेत गरेका थिए। भेलामा बोल्दै नेता देव गुरुङले ओली समूह प्रतिगामी र प्रचण्ड–नेपाल समूह यथास्थितिवादी रहेको धारणा सुनाएका थिए। गुरुङले प्रतिगामी समूहसँग मिलेर क्रान्तिका उपलब्धी जोगाउन नसक्ने मत राखेका थिए।

भेलामा पार्टी एकता संकटमा परेको भन्दै आ–आफ्नो ठाउँबाट जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो। गृहमन्त्री थापाले ओलीसँग वैचारिक र कार्यशैलीका दृष्टिले धेरै बिमति रहे पनि पार्टी एकताको रक्षाका निम्ति आफू लचक भएको धारणा राखेको एक नेताले बताए।

भेलामा पार्टी एकतालाई रक्षा गर्न भूमिका खेल्ने र पार्टी एकता बचाउन नसक्ने परिस्थितिमा प्रचण्ड–नेपाल समूहलाई साथ दिने गरी छलफल भएको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले बताए।