राजकुमार चेपाङको परिवारलाई उचित क्षतिपूर्तीसहित राहत दिने ५ बुदेँ सहमति

 

चितवन : चितवन राष्ट्रिय निकुञ्ज भित्र कुटपिट भई मृत्युु भएका राप्ती २ का राजकुमार चेपाङको परिवारलाई उचित क्षतिपूर्तीसहित राहत दिने ५ बुदेँ सहमति भएको छ ।  जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले परिवारहरुको मागलाई सम्बोधन ५ बुदेँ सहमति गरेको बैठकमा सहभागी नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।
बैठकले मृतक राजकुमार चेपाङलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाहि गर्ने, छोरीलाई भरणपोषण र छात्रवृत्ति रकम नियमितरूपमा उपलब्ध गराउने, घर निर्माणमा आबश्यक बनपैदावर, कच्चापदार्थ र श्रम समेत निशुल्क उपलब्ध गराउने सर्वसहमत निर्णय गरेको छ । यस्तै मृतक राजकुमारको परिवारलाई राहतस्वरूप रु १० लाख रकम उपलब्ध गराउने र राजकुमार चेपाङको शव परिवारले बुझि अन्त्यष्ठी गर्ने सहमति समेत भएको उनले बताए ।

साउन १ गते चितवन निकुञ्जभित्र माछा मार्न गएका राजकुमार सहित पाँच जनालाई सेनाले कुटपिट गरेको आरोप छ । कुटपिटबाट घाइते भएका राजकुमारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको थियो । मृत्युपछि उनका परिवार, आफन्त र स्थानीयले शव बुझेका थिएनन् ।

पोस्टमार्टमपछि राजकुमारको शव टिचिङ अस्पताल काठमाडौँमा छ । आजै नेपाल चेपाङ संघले भरतपुरमा पत्रकार सम्मेलन गरि मृतक राजकुमारको परिवारलाई १० लाख राहत स्वरुप उपलब्ध गराउनुपर्ने लगायत माग राखेको थियो ।