प्रहरीले नै लुकाएकाे ‘सुन’ जस्तै १ किलो धातु बरामत

काठमाडाैं :राजधानीको कमलादीमा केही दिनअघि ‘सुन बरामद’ मा संलग्‍नमध्ये एकजना प्रहरीको कोठामा सुन जस्तो देखिने एक केजी पहेँलो धातु भेटिएको छ।

महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादव नेृत्वको अनुन्धान टोलीले सादा पोशाकमा खटिने प्रहरी जवान प्रसन्‍न श्रेष्ठको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद गरेको हो। नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेरसिंह कडायतले प्रहरी जवानको कोठाबाट सुन जस्तो धातु बरामद भएको पुष्टि गरेका छन्।

‘मैले पनि यसबारेमा थाहा पाएको छु, हामीलाई लिखित जानकारी त आएको छैन तर सुन जस्तै पहेँलो धातु बरामद भएको खबर आएको छ’, उनले  भने, ‘प्रहरी जवानको कोठाबाट बरामद भएको भनिएको सुन जस्तै उक्त धातुको परीक्षण भइरहेको जानकारी पाएको छु।’

छानबिन समितिका संयोजक नै फेरिए कमलादीस्थित नबिल बैंक अगाडिको सडकबाट यही मंगलबार बरामद भएको भनिएको १५ केजी सुनमा अधिकांश अर्कै धातु भएको खुलेको छ। जसमा साढे १४ केजी चाँदी र आधा केजी सुन पुष्टि भएको थियो। उक्त प्रकरणमा प्रहरी जवानहरु बहादुरसिंह कडायत र प्रहरी जवान प्रसन्‍न श्रेष्ठ प्रत्यक्ष जोडिएका छन्।

यो धातु महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहाल नेतृत्वको टोलीले बरामद गरेको थियो। तर यो धातु बरामदस्थल कमलादी नभएर सुनधारा आसपास भएको दाबी गरिएको छ। उता उक्त धातु सडकमा फालिएको अवस्थामा भेटिएको नभइ प्रहरी जवानले एकजना युवतीबाट लिएको अनुसन्धानबाट खुलेको छ।