कुपे डी ला लिगको उपाधिका लागि पीएसजी र लियोन भिड्दै

एजेन्सी :फ्रान्स लिग वान च्याम्पियन्स पेरिस सेन्ट जर्मन (पीएसजी) ले कुपे डी लिगको उपाधिका लागि लियोनको सामना गर्दै छ । खेल स्टाडे डि फ्रान्स स्टेडियममा नेपाली समयअनुसार राति १२ः५५ बजे सुुरु हुनेछ ।

सिजनका दुई उपाधि उचालिसकेको पीएसजीको यो तेस्रो उपाधि भिडन्त हो । यसअघि कोरोना भाइरसका कारण छोटो सिजनका रूपमा सकिएको लिग वानको उपाधि पीएसजीले जितेको थियो । त्यस्तै गत साता मात्रै पीएसजीले फ्रेन्च कपको उपाधि जितेको थियो ।

सिजनको तेस्रो उपाधिका लागि ब्राजिलियन स्ट्राइकर नेयमार मुख्य हतियार हुनेछन् । युवा स्ट्राइकर केलियन एमबाप्पे चोटका कारण मैदानबाहिर रहेकाले पीएसजीको अग्रपंक्तिको मुख्य भूमिका नेयमारको रहनेछ । नेयमार पछिल्लो समय निकै लयमा छन् । गत साता फ्रेन्च कपमा पीएसजीलाई उपाधि दिलाउन सेन्ट इटिनेविरुद्ध खेलको एकमात्र निर्णायक गोल नेयमारले गरेका थिए ।

पीएसजीले लियोनलाई पराजित गर्न सके नवौंपटक कुपे डि ला लिगको उपाधि जित्नेछ । पीएसजीले पछिल्लो पटक २०७–१८ को सिजनमा कुपे डि ला लिगको उपाधि जितेको थियो । यता लियोनले भने एकपटक मात्र उपाधि जितेको छ । सिजन २०००–०१ पछि तीनपटक कुपे डि ला लिगको फाइनल खेलेको भए पनि उपाधि जित्न भने सकेको छैन ।