प्रोफेसनल मिडिया ग्रुपको भवन शिलान्यास:अतिथिद्वारा ग्रुपको उन्नती प्रगतिको कामना

चितवन : प्रोफेसनल मिडिया ग्रुपको भवन बिहिवार शिलान्यास गरिएको छ । गलेश्वर आश्रम देवघाटधामका पिठाधिस महामण्डलेश्वर १ हजार ८ स्वामी आत्मानन्द गिरीजि महाराजले भवनको शिलान्यास गर्नुभएको हो । भवन शिलान्यासका क्रममा ग्रुपका अध्यक्ष नबिनराज पौडेल र उपस्थित सम्पूर्ण अतिथिले साथ दिनुभएको थियो । भरतपुर–रामपुर सडकखण्डमा पर्ने भरतपुर ४ सृष्टि चोक, ओमशान्ति भवनसंगैको जग्गामा ग्रुपको भवन निर्माण हुनेछ ।

महामण्डलेश्वर गुरुसंगै ग्रुपका अध्यक्ष पौडेलका पिता र माता पनि भुमि पुजन कार्यमा सहभागि हुनुभयो । निर्माण सम्पन्न भएपछि ग्रुप अन्तर्गतका रेडियो भरतपुर, भरतपुरपोष्ट, भरतपुर टेलिभिजन, सार्थक बिज्ञापन सेवा र बेदान्त मल्टिपरपोज कम्म्पनी एउटै भवनमा रहनेछन । भवन शिलान्यास कार्यक्रमलगत्तै भएको शुभकामना आदानप्रदानमा बोल्दै सम्पुर्ण अतिथिले ग्रुपको उन्नती प्रगतिको कामना गर्नुभयो ।

प्रमुख अतिथि महामण्डलेश्वर गुरुले सूचना, समाचार, संगित र मनोरञ्जनको क्षेत्रमा ग्रुप अग्रणी बन्नेमा आफु बिश्वस्त रहेको बताउनुभयो । सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा व्यवसायिक क्षेत्रबाट पनि मिडियालाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । मिडिया सदैव प्रतिपक्षिको भुमिकामा रहने भएकाले सँधै सत्यको पक्षमा लाग्न उहाँको सुझाब छ ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य रामकृष्ण घिमिरेले नाम जस्तै ग्रुप व्यवसायीक बन्ने बिश्वास व्यक्त गर्नुभयो । ग्रुपका अध्यक्ष पौडलसहितका सदस्यहरुसंग बिभिन्न क्षमता रहेकाले एउटै भवनबाट सेवा प्रवाह हुँदा त्यसले थप सफलता प्राप्त गर्ने घिमिरेको तर्क छ ।

यस्तै बागमति प्रदेशका सांसद बिजय सुवेदीले प्रोफेसनल मिडिया ग्रुपको भविष्य उज्वल बनोस भन्दै सफलताको शुभकामना दिनुभयो । ग्रुप आफ्नो यात्रामा अघि बढ्दै गर्दा आवश्यक पर्ने हरेक सहयोग गर्न आफु तयार रहेको सांसद सुवेदीको भनाइ थियो । सुवेदीले सत्य, तथ्य र निश्पक्ष खवर पस्किँदै व्यवसायीक ढंगले अघि बढ्न सुझाब दिनुभयो ।

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जनतालाई सुसूचित गराउने काममा ग्रुप निर्भिक ढंगले अघि बढ्नेमा आँफु विश्वस्त रहेको बताउनुभयो । लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै सभापति श्रेष्ठले कसैको दवाब, धम्कि र प्रभावमा नपरि काम गर्न हौसला दिनुभयो । ग्रुपलाई पार्टीको तर्फबाट सहयोग रहने पनि श्रेष्ठको प्रतिवद्धता छ ।
भरतपुर महानगरपालिकाका उप–प्रमुख पार्वती शाह ठकुरीले ग्रुपलाई आवश्यक सहयोग रहने स्पष्ट पार्नुभयो । उप–प्रमुख ठकुरीले ग्रुपको बृत्ति बिकासमा आवश्यक पर्ने सहयोग महानगरबाट प्राप्त हुने बचन दिनुभयो ।

ग्रुपका अध्यक्ष नविनराज पौडेलले सकभर ६ महिनामै भवन निर्माण सम्पन्न गरि सम्पुर्ण काम एउटै भवनबाट शुरु हुने बताउनुभयो । आफ्नै भवन भएपछि बहसका बिशेष कार्यक्रम र समुदाय केन्द्रित कार्यक्रममा बिशेष जोड दिने उद्घोष गर्नुभयो । अध्यक्ष पौडेलका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशका २५ रेडियोसंग नेटवर्क बिस्तार भईसकेको छ भने अब छिट्टै ५० भन्दा बढि रोडियोहरुको नेटवर्क बन्नेछ ।

ग्रुपका सल्लाहकार दिपक आचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पूर्व सांसद जगन्नाथ पौडेल, भरतपुर ५ का वडाध्यक्ष पदमपाणी सुवेदी, ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, कांग्रेसका नेता भक्ति तिमिल्सिना लगायतको उपस्थिती थियो ।