खेलाडीको पीसीआर जाँच्न क्यानको प्रस्ताव

काठमाडाैँ :नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना सबै खेलाडीको पीसीआर परीक्षणका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेको छ । प्रशिक्षण सुरु गर्नुअघि सबै खेलाडीको कोरोना परीक्षणका लागि मन्त्रालयमा प्रस्ताव गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

उनले पीसीआर परीक्षणका लागि मन्त्रालयमा बुधबार प्रस्ताव गरेको बताए । तर, कुन दिन परीक्षण गर्ने भन्ने विषयमा कुनै प्रतिक्रिया नआएको क्यान सचिव प्याकुरेलले जानकारी दिए ।

“सरकारले भदौ १ गतेबाट प्रशिक्षण सुरु गर्न अनुमति दिने भनेको छ । हामी अहिले त्यसैको तयारीमा छौ,” क्यानका सचिव प्याकुरेलले भने, “यस्तो महामारीको समयमा खेलाडी कोही कतै, कोही कतै पुगेका छन् । त्यसैले पनि उनीहरूको पीसीआर परीक्षण आवश्यक भएको हो । हामीले खेलाडीको पीसीआर परिक्षणपछि मात्रै प्रशिक्षण सुरु गर्ने निर्णय गरेका छौ ।”

उनले परीक्षणपछि नतिजा नेगेटिभ आए खेलाडीले क्वारेन्टिनमा बस्न नपर्ने बताए । त्यसका लागि पहिले नै पीसीआर परीक्षणको पहल गरेको उनको भनाइ छ । क्यान सचिव प्याकुरेलले उपत्यकाबाहिर रहेका प्रायः खेलाडी आइसकेको जानकारी दिए । “प्रायः खेलाडी उपत्यका भित्रिइसक्नुभएको छ । आउन बाँकी दुई–चारजना मात्र हुनुहुन्छ । उहाँहरू पनि सबै विषयको व्यवस्था भएपछि काठमाडौं आइपुग्नुहुन्छ” उनले भने ।

खेलाडीको प्रशिक्षण सुरु गर्न एक साता पहिले पीसीआर परीक्षणका लागि सबैलाई डाक्ने तयारी भएको उनले बताए । हाल होटेलको व्यवस्थापन गर्न नसकेका कारण सबै खेलाडीलाई अगाडि नै बोलाउन नसकेको बताए ।