प्रहरी, थुनुवा र स्वास्थ्यकर्मीमा पनि कोरोना

स्याङ्जा : स्याङ्जामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार भिरकोट, बिरुवा, पुतलीबजार र गल्याङ नगरपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये तीनजना बाहेक आठजना बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । संक्रमित तीनमध्ये एकजना गल्याङ नगरपालिकामा कार्यरत प्रहरी हुन् । स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माका अनुसार प्रहरीसहित जिल्ला प्रहरी कार्यालयमा रहेका एक थुनुवा र गल्याङकै एक औषधि व्यवसायीमा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमित औषधि व्यवसायी गल्याङमा कार्यरत स्वास्थ्यकर्मीको सम्पर्कमा आएका थिए । ट्रेसिङ र स्वाब लिने कार्य आज नै गरिने शर्माले जनाए ।