राहतमा बाडिएको चामल गुणस्तरहीन

भोजपुर :  रामप्रसादराई गाउँपालिकामा राहतमा बाडिएको गुणस्तरहीन चामल भेटिएपछि गाउँपालिकाले थापा सप्लायर्स घोरेटारलाई कालोसुचीमा राख्दै धरौटी जफत गर्ने निर्णय गरेको छ ।करार सम्झौता विपरित कुहिएको चामल ल्याउने सप्लायर्सलाई कारवाहीको प्रक्रिया अघि बढाएको हो । राहतमा दिएको चामल खानै नमिल्ने भेटिएपछि गाउँ कार्यपालिकाको बैठकले सप्लायर्सको धरौटी जफत गरेर कालोसुचिमा राख्ने निर्णय गरेको गाउँपालिका उपप्रमुख सम्झना राईले बताइन् । सुख्खा खडेरी र कोभिड १९ महामारीका कारण विपन्न परिवारलाई गुणस्तरहीन चामल उपलब्ध गराउने सप्लायर्सलाई कारबाही गर्ने निर्णय गरेको उपप्रमुख राईले सुनाइन् ।

सप्लायर्सले राहतस्वरुप ६ वडामा २१ सय ८४ परिवारलाई चामल उपलब्ध गराएको थियो । वडा नं २ धोद्लेखानीका अध्यक्ष राजकुमार तामाङले राहतका नाममा बाडिएको चामल सम्झौताभन्दा कमशल भएकोले कारबाहीको प्रक्रिया बढाइएको बताए ।

सम्झौतामा ‘सोना मन्सुली’ उल्लेख गरिए पनि ‘हात्तीछाप’ ब्राण्ड जस्तै चामल वितरण गरिएको वडाध्यक्ष तामाङले बताए । चामलमा ढुंगा, कनिका, चुराको टुक्रा र प्रशस्त बियाँ भेटिएको राहात लिएका दलगाउँका स्थानीय टेकराज भट्टराईले गुनासो गरे । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।