एकल पुरुषलाई पनि भत्ता

तेह्रथुम :  आर्थिक रुपमा विपन्न भए पनि राज्यले दिने सामाजिक सुरक्षा पाउन पुरुषको हकमा ७० वर्ष पुग्नुपर्छ । महिलाको हकमा भने श्रीमानको मृत्युपछि राज्यले सामाजिक सुरक्षाभत्ता दिने गरेको छ ।

हरेक नागरिकलाई गाँसबास कपासका हिसाबले सुरक्षित रहने अधिकार छ । सोही अनुसार जेष्ठ नागरिक,जेष्ठ दलित,अपांग तथा एकल महिलाले सेवा लिंदै आएका छन् । विपन्न तथा एकल पुरुषका लागि राज्यले कुनै कार्यक्रम ल्याउन सकेको छैन । तर तेह्रथुम जिल्लाको छथर गाउँपालिकाले भने एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेको छ ।

छथर गाउँपालिका भित्र रहेका तथा विभिन्न कारणले एकल बनेका पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने तयारी रहेको पालिका अध्यक्ष सन्तबिर लिम्बु बताए । उनले भने, ‘आर्थिक रुपमा एकदमै विपन्न तथा विभिन्न दीर्घ रोगका कारण पीडित बन्दै आएका एकल पुरुषलाई यो कार्यक्रमले राहत मिल्ने छ ।’ एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने नेपालमै पहिलो पालिका हुने अध्यक्ष लिम्बुको दावी छ ।

गाउँपालिकाले एकल पुरुषहरुको तथ्याङ्क सकलन गरी वार्षिक रुपमा एकमुष्ठ पाँच हजार दिइने प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए । अन्नपूर्ण पोष्टमा समाचार छ ।