चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा तीन बाघ मरे

चितवन  : गत आर्थिक वर्षमा प्राकृतिक कारणले तीनवटा बाघ मरेका छन् । अघिल्लो आवमा आठ बाघ मरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको नवलपरासीस्थित वेदघारी मध्यवर्ती सामुदायिक वनमा एउटा वयस्क भाले बाघ मृत फेला परेको थियो ।

त्यसैगरी, ठोरी र कसरामा एक–एकवटा पोथी वयस्क बाघ मृत फेला परेका हुन् । कसरामा उद्धारका क्रममा बाघ मरेको हो । दुईवटा घाइते भएर मरेका हुन भने एउटाको कारण नखुलेको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्षभन्दा गत वर्ष प्राकृतिक कारणले मर्ने बाघको संख्या घटेको उहाँले जानकारी दिनुभयो । दुर्लभ एकसिंगे गैँडा पनि अघिल्लो आवमा धेरै मरेका थिए । त्यस वर्ष ४३ गैँडा मरेका थिए भने गत आवमा प्राकृतिक कारणबाट मर्ने गैँडाको संख्या २६ रहेको छ ।रासस