नेकपाकाे ४० प्रतिशत केन्द्रीय सदस्यले हस्ताक्षर बुझाउँदै

काठमाडाैं :नेकपाका ४० प्रतिशत केन्द्रीय सदस्यले बैठकको माग गर्दै हस्ताक्षर बुझाउँदै छन् ।

बुधबार दिउँसो ४ बजे महासचिव विष्णु पौडेललाई बैठकको मागसहित हस्ताक्षर बुझाउने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरले जानकारी दिए ।

“हामी छलफलमा छौं । चार बजे पार्टी कार्यालयमा हस्ताक्षर बुझाउने तयारी छ,” गैरेले  भने । केन्द्रीय सदस्य नीरज आचार्यले महासचिवसँग समय माग गरिएको जानकारी दिए ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक किचलोमा परिणत भएपछि केन्द्रीय कमिटी बैठकको आवश्यकता महसुस भएको हस्ताक्षरकर्ताहरूले बताएका छन् । स्थायी कमिटीले विवाद सल्ट्याउन नसकेपछि र आफैं विभाजित भएपछि समस्या समाधानका लागि केन्द्रीय कमिटी बैठकको माग गरिएको उनीहरूले बताएका छन् ।

केन्द्रीय कमिटीका सदस्यहरूले केही दिनअघि जुम मिटिङमार्फत छलफल गरेर बैठक माग गर्ने निष्कर्षमा पुगेका थिए । उपत्यकाबाहिर रहेका केन्द्रीय सदस्यहरूसँग इमेलमार्फत हस्ताक्षर मगाएका थिए ।

बैठक बोलाउन आवश्यक हस्ताक्षर जुटिसकेको भए पनि विवाद मत्थर भएकाले बुझाएका थिएनन् । मंगलबार पुनः विवाद उत्कर्षमा पुगेपछि बैठक अनिवार्य भएको र विधानतः बैठक बस्ने समय पनि भएको गैरेको भनाइ छ ।

नेकपाको विधानको धारा ५९ (४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक पन्ध्र दिनभित्र बोलाउनुपर्ने छ ।

४ सय ४१ सदस्यीय केन्द्रीय कमिटमा बैठक बोलाउन १ सय १० जना सदस्यको हस्ताक्षर आवश्यक पर्छ । त्यति हस्ताक्षर जुटिसकेको गैरेको भनाइ छ ।