चिकित्सकलाई बाहिर काम गर्न रोक

बिराटनगर : कोसी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई बाहिरका स्वास्थ्य संस्थामा काम गर्न तत्कालका लागि रोक लगाइएको छ । त्यहाँ कार्यरत चिकित्सक र नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएपछि बाहिरका निजी अस्पताल र क्लिनिकमा काम गर्न रोक लगाउँदै अस्पताल प्रशासनले कडाई गरेको हो ।

कोसीमा कार्यरत संक्रमित चिकित्सक र नर्सले आफ्नै क्लिनिक सञ्चालन गर्ने तथा बाहिरका स्वास्थ्य संस्थामा काम गर्ने गरेको पाइएको छ । कोसीको थर्माक्लोजी विभागमा कार्यरत चिकित्सकमा यस अघि कोरोना संक्रमणको पुष्टि भएको थियो । सप्तरी घर भएका उनलाई ज्वरो र रुघाखोकी लागेपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

कोसीमा कार्यरत संक्रमित स्टाफ नर्स विराट नर्सिङ होम एवं विराटनगर अस्तपाल प्रालीमा पनि आंशिक रुपमा कार्यरत थिइन् । विराटमै कार्यरत रहेको अवस्थामा उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदा सोमबार रिपोर्ट पोजिटिभ देखिएको थियो ।

उनी कोसी अस्पतालको स्त्री रोग तथा प्रसूति विभाग अन्तर्गत पोस्टन्याटल वार्डमा कार्यरत छिन् । विराटका एकजना बरिष्ठ चिकित्सकसँगै नर्सको पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि अस्पताल प्रशासनले अन्य स्वास्थ्य संस्थामा काम नगर्न निर्देशन दिँदै चिकित्सक र नर्सलाई पत्राचार गरिसकेको छ ।

स्टाफ नर्समा कोरोना देखिएपछि प्रसूतिपछि बच्चासहित राखिने कोसीको पोस्टन्याटल वार्ड सिल गरिएको छ । त्यहाँ कार्यरत रहेका कर्मचारी र स्वास्थ्यकर्मीको परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको छ ।

संक्रमित चिकित्सक र नर्सको कोभिड-१९ अस्पतालमा उपचार भइरहेको छ । संक्रमणको महामारीका समयमा बाहिरका स्वास्थ्य संस्थामा काम गरेको पाइएमा सबै स्वास्थ्यकर्मीलाई कारबाहीको दायरामा ल्याइने कोसीका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए ।

‘स्वास्थ्यकर्मीले आफ्नै क्लिनिक सञ्चालन गर्न पाउँछन् । तर यो विषम परिस्थितिमा अरु अस्पतालबाट कोसीमा कोरोनाको संक्रमण सरेर आएको पाइयो,’ उनले भने, ‘त्यही भएर यथास्थितिमा कुनै चिकित्सक र नर्सलाई अन्त काम गर्न प्रतिबन्ध लगाएको हो । अरु स्वास्थ्य संस्थामा सेवा प्रवाह गर्न रोक लगाउँदै आन्तरिक रुपमा पत्राचार पनि गरिसकिएको छ ।’

कोसीमा तीन सयको हाराहारीमा स्वास्थ्यकर्मी छन् । एक सय जति चिकित्सक छन् । कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको बताउँदै मेसु दासले अस्पतालमा कार्यरत रहेकामा संक्रमण बढ्न सक्ने उल्लेख गरे । भने, ‘संक्रमित चिकित्सक र नर्सको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरेर परीक्षणको प्रक्रिया अघि बढाइएको छ ।’