दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

दाङ स्दा ङको बंगलाचुली गाउँपालिका ५ मा बुधबार बिहान खसेको पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ ।

घरमाथिबाट खसेको पहिरोले पुर्दा साकिनेकी २४ वर्षीया बाटुली नेपाली र उनकी २ वर्षीया छोरी आयुष्माको मृत्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

घरमा रहेका ५ परिवारमध्ये अन्य ३ जना भने सकुशल रहेका छन् । सो घरमा मृतक बाटुकीका सासू-ससुरा र जेठाजु बस्दै आएका थिए । भुइँतला मात्रै रहेको सो घरको उत्तरतर्फ सुतेका आमा छोरीको मृत्यु भए पनि दक्षिणतर्फ सुतेका अन्य तीनजना भने बाँच्न सफल भएका छन् । मृतकका पतिको केही समय अघि मृत्यु भइसकेको छ ।

गाउँपालिका अध्यक्ष वलीले पुरिएको स्थानबाट शव निकालिएको बताएका छन् । पहिरो पीडित परिवारलाई अहिले सुरक्षित स्थानमा लगेर राखिएको उनको भनाइ छ । घोराही बजारबाट करिब ३७ किलोमिटर पूर्व-उत्तरमा यो घटना भएको हो । बंगलाचुली गाउँपालिका पहाडी भेक भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिरोको उच्च जोखिममा रहेका छन् ।

केही दिनयताको लगातारको वर्षाका कारण बंगलाचुलीका अधिकांश स्थानका बस्ती पहिरोको उच्च जोखिममा परेका हुन् । बंगलाचुली गाउँपालिका ७, ढावाका अधिकांश बस्ती पहिरोको जोखिममा परेपछि त्यहाँ बस्दै आएका १४ परिवार विस्थापित भएका छन् ।