चितवनमा कोरोना संक्रमण दर घट्दो

भरतपुर :  चितवनमा कोरोना संक्रमण दर क्रमशः घटिरहेको छ । काठमाडौँलगायत तराईका अन्य जिल्लामा संक्रमण दर बढिरहँदा चितवनमा कोरोना संक्रमण दर घटिरहेको नतिजा आएको छ ।
‘पछिल्लो दुई साताको तथ्याङ्क हेर्दा पनि चितवन जिल्लाकै स्थानीयमा फाट्टफुट्ट एक–दुई जनामा मात्र कोरोना देखिएको छ’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले भने, ‘संक्रमण दर त घटेको छ, तर जोखिम भने कायमै छ ।’
उनका अनुसार लकडाउन खुलेका कारण चितवनको बजार अघिपछिकै जस्तै भइसकेको छ, जसका कारण जोखिम भने अझ बढिरहेको छ । प्रमुख तिवारीले भने, ‘संक्रमण दर घटेको भए पनि बजार हेर्दा जोखिम बढ्छ भन्ने अनुमान पनि गर्न सकिन्छ, ढुक्क हुने अवस्था अझै भइसकेको छैन ।’ उनले कोरोनाप्रति अत्यन्तै सावधान हुनुपर्ने बेला अब झन् आएको बताए ।
चितवन जिल्लाका सात पालिकाहरुले बनाएका क्वारेन्टाइनहरु बिस्तारै खाली भइरहेका छन् । विदेशबाट आएर क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि निकै कम छ । क्वारेन्टाइनमा बस्नेहरु घर फर्कने क्रम पनि बढिरहेकै छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चितवनमा रहेका क्वारेन्टाइनमा बस्ने हाल चार सय जनाको हाराहारीमा छन् । सात पालिकामा १०९ वटा क्वारेन्टाइन रहेकोमा झन्डै ४० वटा क्वारेन्टाइन त खाली भइसकेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले यतिबेला चितवनमा कोरोना परीक्षण पनि कम भइरहेको बताए । उनले भने, ‘कोरोना परीक्षण आवश्यक पर्नेहरुको त भइरहेको छ, तर आवश्यक पर्नेहरुको संख्या पनि पछिल्लो समयमा कम भइरहेको छ ।
chitwan post