नेपाली चियाले ‘ट्रेडमार्क’ पाउँदै

इलाम :  नेपालमा चिया रोपिएको १५७ वर्षपछि नेपाली चियाले आफ्नो पहिचान पाउने भएको छ ।

नेपाल चिया तथा कफी विकास बोर्डले चियाको लोगो ‘ट्रेडमार्क’ कार्यान्वयन चरणमा चिया व्यवसायीलाई स्वीकृति दिने तयारी गर्दैछ । बोर्डले लोगो प्रयोगका लागि चिया उद्योगी, व्यवसायीबाट निवेदन माग गरेकामा ४२ वटा निवेदन दर्ता भएको बोर्डले जनाएको छ । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड, ती उद्योग तथा व्यवसायीले पूरा गरे नगरेको अध्ययनपछि लोगो प्रयोग गर्न सिफारिस गर्ने बोर्डका प्रवक्ता दीपक खनालले बताए ।

प्रवक्ता खनालले आगामी भदौ महिनाभित्र लोगो प्रदान गर्ने तयारी गर्दैछौँ । लोगो माग गर्ने र मापदण्ड पूरा भएका सबैलाई सार्वजनिक रूपमै एक साथ लोगो प्रदान गर्ने छौँ, मापदण्ड पूरा नगरेकालाई मापदण्ड पूरा गर्न निर्देशन दिनेछौँ भने । लोगो प्रयोगमा ल्याइएपछि व्यवसायीले सोझै पठाउने गरेको चियालाई आफ्नो उद्योगको लोगोसहित पठाउन पाउने भएका छन् ।

यद्यपि व्यवसायीलाई लोगो प्रयोगको सर्त पनि छ । लोगो प्रयोग गर्नुअघि व्यवसायीले उत्पादन गरेको चियाको परिमाण, हरियो पत्ती र तयारी चियाका परिमाण बोर्डलाई देखाउनुपर्ने छ ।
कुन व्यवसायीले कति चिया निकासी गरे भन्ने सबै तथ्याङ्क बोर्डमा रहने र त्यसको अनुगमनको सजिलो उपाय रहेको पनि प्रवक्ता खनाल बताउँछन् । उनले यदि निर्देशिकामा भएका विषय र आचार संहितालाई उल्लङ्घन गरे दिएको लोगो खोस्न पनि सकिने छ । यो निर्देशिका र आचार संहिताले किसानलाई समेत गुणस्तरीय चिया बनाउन बाध्य गराएको छ ।

लोगो कार्यान्वयनपछि समितिले किसानको चियाबारी, चिया टिपाइ समेतको निरीक्षण र अनुगमन गर्ने छ भने । यस्तै उद्योगमा पनि कसरी गुणस्तरीय चिया प्रशोधन तथा उत्पादन र प्याकेजिङको काम भइरहेको छ । आजको गोरखापत्रमा समाचार छ ।