कविता : जीवनचक्र !

तारा साम्पाङ राई,

थाङ्नाको पोकोभित्र गुटमुटिएर
स्वतन्त्र कोक्रोमा हल्लिरहेको दिनहरू
हातखुट्टा टेकेर खेलौना ज्यानलाई घिसार्दै
बुलबुल र्यालका फोकाहरू निकाल्ने
ती क्षण, ती दिनहरू
बालपनमै छोडिएछ ।

आमाको न्यानो काखमा, एकमज्जाले तेर्छिदै
बाबुको पिठ्यूँमा, बुइ आनन्दका क्षणहरू
त्यतिखेरै छोडिएछ ।
जहाँ
जुनबेला म स्वतन्त्र थिएँ,
सत्य कुरा अभिव्यक्त गर्दथेँ
कहिले च्याँ रूँदै त
कहिले कोमल गालामा, काउकुतीले हाँस्दै
बामे र्सर्ने दिनहरू
त्यही बेला छोडिएछ ।

चर्खा जीवन
कहिले बालापन
कहिले युवा त
कहिले आमा अनि बाबु
जीवन अन्तिम ज्यानहरू
बुकी फूलको झुलोजस्तै,

नियतिको झुटो बोल्ने
सत्यलाई असत्य निम्त्याउने
जुनबेला निडर जीवन ।
फूल जीवन गल्न थाल्छन्

वेदना र परिस्थितिहरू,
लाइन लाग्दा, ढककिलो सँगै
जोखी सबै नसकिँदो रै’छ
यता धम्की, उता हप्काई
सही सबै नसकि“दो रै’छ ।

खटनमा हिँड्ने घोडा जीवन
कहिले डाँडा त कहिले काँडा
लगाम जीवन, बालापनको दिन ऐले
मागी यहाँ नपाइँदो रै’छ

घाम जीवन डुब्दै जाँदा
गलाहरू खुम्चिएर, रावाखोला बगरजस्तो
चिउँडोहरू आज, ओडारेको भिरजस्तो
सिङ्गो जीवन उत्तिस घारीको तिम्रो जस्तो
जहाँ कात्रो र हरियो बाँसको पर्खाइमा

धर्तीसँगै विलिन जीवन
जीवनमाथि माटो जीवन
वायुवेग सँगै
जीवन सङ्घार तेर्छिरै’छ
उडिरहेछ, हिँडिरहेछ
उसैगरी फनफनी
जीवनचक्र घुमिरहेछ