पूर्वप्रधानमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर

एजेन्सी :मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

भ्रष्टाचारसम्बन्धी विभिन्‍न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनीविरुद्ध लागेका सातवटै अभियोगमा पूर्वप्रधानमन्त्री नाजिब दोषी भएको ठहर गरेको हो ।

उनले आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू अस्वीकार गरेका थिए ।

उक्त मुद्दालाई मलेसियाको कानुनी शासन स्थापना र भ्रष्टाचार नियन्त्रणको प्रयासको महत्त्वपूर्ण परीक्षा मानिएको थियो । मलेसियाको वनएमडीबी नामक कोष अपचलन काण्डले विश्वभरी भएका जालसाजी र भ्रष्टाचारलाई उजागर गरिदिएको छ ।

उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले सबै प्रमाणका आधारमा अभियोजन पुष्टि भएको घोषणा गरेका हुन् ।

मंगलबारका फैसलाहरू सरकारी कोषबाट तात्कालीन प्रधानमन्त्रीका निजी खाताहरूमा चार करोड २० लाख रिंगिट (करिब एक करोड अमेरिकी डलर) स्‍थानान्तरण गरेको विषयसँग सम्बन्धित छन् । नजिब सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री थिए । -बीबीसी