सप्तरीमा फेरी लकडाउन शुरू

सप्तरी : संघीय सरकारले लकडाउन खुला गरेपनि सप्तरीमा भने एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै लकडाउन गर्ने निर्णय गरेका छन् ।

कोरोना संक्रमण (कोभिड(१९) को जोखिम बढेको भन्दै मंगलबारदेखि राजगढ र अग्नीसाइर कृष्णसवरन गाउँपालिकाले अनिश्चितकालका लागि सार्वजनिक सेवाहरु बन्द गरेका छन् ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गरी समुदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेकाले गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको जनाए ।

अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिँदै यादवले हाटबजार नलगाउन, गोष्ठि-सेमिनार नगर्न, भीडभाड नगर्न, पसल, व्यापार, व्यवसाय, सरकारी, गैरसरकारी र वित्तीय संस्था सञ्चालन नगर्न, नगराउन, अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।

अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि सो विज्ञप्तिमा अनुरोध गरिएको छ । राजगढ गाउँपालिकाले पनि मंगलबादेखि गाउँपालिकाको अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै उच्च जोखिम न्यूनिकरणका लागि गाउँपालिका र वडा कार्यालय समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचना जारी गरिएको गाउँपालिका अध्यक्ष परमानन्द यादवले बताए ।

रुपनी गाउँपालिका १ ले पनि कामकाज ठप्प गरेको छ । राजविराजमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै राजविराज नगरपालिकाले एक साताअघि मंगलबार लकडाउन कडा गर्ने निर्णय गरेको थियो ।

राजविराज नगरपालिका-६ का ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्युपछि ‘कन्याक्ट र ट्रेसिङ’ गर्दै जाँदा परिवारका पाँचजना सदस्य, उनको घर, पसल र कलेजका कामदार, छिमेकी तथा उनीहरुको परिवारमा समेत कोरोना पुष्टि हुँदै गएपछि राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन पूर्ण पालना गर्न/ गराउने निर्णय गरेको हो ।

बिहीबारदेखि लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले राजविराज नगर क्षेत्रभित्र जारी गरेको निषेधाज्ञा कायम छ । समुदायमा कोरोना फैलिएको भन्दै ट्रयाकिङ र ट्रेसिङका आधारमा पीसीआर परीक्षण गर्दा संक्रमितको सङ्ख्या बढेर ४ सय ६२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

विष खाएर उपचार गराउन आएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ का ५० वर्षीय पुरुषमा शुक्रबार कोरोना पोजिटिभ देखिएपछि गरिएको परीक्षणमा उनको परिवार र गाउँलेमा समेत संक्रमण देखिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका सदस्य र सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गरी जाँच गर्दा परिवारका पाँचजना र सम्पर्कमा आएका गाउँकै एकजना संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनको परिवारका २२, २७, २९, ४० र ५१ वर्षीय पुरुष तथा सम्पर्कमा आएका वडा नम्बर ६ का २२ वर्षीय पुरुष पनि संक्रमित पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिए ।

भारतबाट आइ मृत्यु भएका कोरोना संक्रमित राजविराज-६ का ७३ वर्षीय व्यापारीको सम्पर्कमा आएका थप दुईजनामा पनि संक्रमण देखिएको छ । राजविराज नगरपालिका ३ का २४ वर्षीय र वडा नम्बर ८ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको थप रिपोर्ट आउन बाँकी छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार क्वारेन्टाइनमा रहेका ४ वर्षीय बालकसहित सातजना संक्रमित पनि थपिएका छन् ।

बलान बिहुल गाउँपालिका-१ का २६ वर्षीय, वडा नम्बर-२ का २० वर्षीय, वडा नम्बर-३ का ४, १० र २० वर्षीय, वडा नम्बर-४ का २३ र ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।