रत्ननगरमा सहकारीको सञ्जालको अध्यक्षमा ऋतु गिरी

चितवन :  चितवनको रत्ननगरमा छरिएर रहेका सहकारीहरुलाई एकिकृत गरि गरि सहकारी सञ्जाल गठन गरिएको छ । उत्पादनशील कार्यमा नगरपालिकासँग सहकार्य गर्न सहकारीको सञ्जाल गठन गरिएको हो ।

सञ्जालको अध्यक्षमा ऋतु गिरी चयन भएकी छिन् । गिरी उज्ज्वल महिला विकास वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् । सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको भेलाले गिरीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।

रत्ननगरमा विभिन्न प्रकृतिका ६७ वटा सहकारी संस्था रहेका छन् । नगरभित्र २३ वटा वचत तथा ऋण सहकारी, १९ वटा कृषि सहकारी, ११ वटा दुग्ध सहकारी, ५ वटा बहुउद्देश्यीय सहकारी, ४ वटा पर्यटन सहकारी, ३ वटा सामाजिक उद्यमी सहकारी, १ सञ्चार सहकारी र १ जडीबुटी सहकारी रहेका छन् ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सहकारीहरु बचत र ऋण प्रवाहमा मात्र केन्द्रित भएकाले उत्पादनशील काम गर्नुपर्ने बताए । मेयर वनले भने– ‘सहकारीसँग धेरै रकम हुन्छ । सहकारीलाई एकिकृत गरि समृद्ध नगर बनाउनुपर्छ, त्यसमा सहकारीलाई आबद्ध गराइनेछ ।‘

सञ्चाल गठनले नगरका कार्यक्रममा समावेश गर्न सहज हुने, सहकारीको मर्जमा सघाउन पुर्याउने,रोजगार सृजना हुने खालका व्यवसाय र उत्पादनसंग जोडिने कार्य गर्न मद्यत पुग्ने मेयर वनको विश्वास छ ।